बालमैत्री घोषणा भयो नमोबुद्ध नगरपालिकाको वडा नम्बर १

नौलो समाचार संवाददाता
२०८१ चैत्र ३१, आईतबार मा प्रकाशित २५३ पटक पढिएको
बालमैत्री घोषणा भयो नमोबुद्ध नगरपालिकाको वडा नम्बर १

नमोबुद्ध नगरपालिकाको वडा नम्बर १ लाइ बालमैत्री वडा घोषणा गरिएको छ। ११ वटा वडामध्ये वडा नम्बर १ बालमैत्री घोषणा हुने पहिलो वडा हो ।

आइतबार मथुरापाटी फुलबारीमा आयोजित कार्यक्रमबीच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सो वडालाई बालमैत्री वडा घोषणा गरेका हुन्।

बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेर जिल्ला समन्वय समिति काभ्रेबाट अनुगमन भए पछाडि वडा घोषणाका लागि स्वीकृति पाएको थियो।

उपप्रधानमन्त्री सिंहले वडा अध्यक्ष प्रेमबहादुर तामाङलाई प्रमाणपत्र हस्तान्तरण गर्दै यसको दिगोपना कायम गर्न अनुरोध गरेका थिए।

नगर प्रमुख कुनसाङ लामाले अन्य वडालाई पनि क्रमश बालमैत्री घोषणा गर्दै लगिने बताए।

नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारादेवी सुनुवारले अन्य वडामा पनि सूचकहरू पूरा गर्न काम भइरहेको बताइन्।

पहिलो बालमैत्री वडा घोषणा भएकोमा खुसी व्यक्त गर्दै नमोबुद्ध नगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर तामाङले सबै पक्षमा काम गरिएको र यसको निरन्तरताका लागि अझै काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने बाल सन्जाल, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायतका सरोकारवालाहरूलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस