नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित जनताका आकांक्षा पूरा गर्नुपर्ने बताए। ‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ’ उनले भने, ‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व हो ।’
राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारकोरूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको पनि उल्लेख गरे।
राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेहरूका लागि नगरकोट नजिकको रोजाइस्थल भएको र यो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरव र शान भएको उल्लेख गर्दै जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योगदान दिएको पनि बताए ।
नगरकोटलाई मूल विन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवम् ऐतिहासिकस्थलको प्रवद्र्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको उल्लेख गर्दै उनले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनको लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए। नगरकोट भ्रमण वर्ष घोषणा विकासको प्रमुख आधारशीला भएको भन्दै पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास पनि व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सहित राष्ट्र निर्माणको अभियानमा जुट्न यो दिनले सबैलाई प्रेरणा देओस् भन्ने कामना पनि गरे ।
प्रतिक्रिया दिनुहोस