एमाले १०औं महाधिवेशन चितवनमा हुने

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित ७८५ पटक पढिएको
एमाले १०औं महाधिवेशन चितवनमा हुने

कात्तिक ४, काठमाडौँ। नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो।

यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्नुभएको थियो। तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो।

बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीसमेत गठन गरेको छ।

प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १/१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहने बताउनुभयो।

एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाएको निष्कर्ष पनि निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो।

एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति दुःख व्यक्त गरेको छ।

त्यसैगरी प्राकृतिक विपत्तिपरी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो।

बैठकले विपत्तिमा परेकाहरुलाई राहत र उद्धारको कार्यमा जुटन पार्टीका सिंगो पक्तिलाई आह्वान समेत गरेको छ। बैठक भोलि शुक्रबार दिउँसो २ बजे पनि तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस