राष्ट्रिय जनगणना लागि काभ्रेमा ५ सय ९ गणक खटाईए

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २५, बिहिबार मा प्रकाशित ५८३ पटक पढिएको
राष्ट्रिय जनगणना लागि काभ्रेमा ५ सय ९ गणक खटाईए

कात्तिक २५, काभ्रे। राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो।

केन्द्रीय तथ्यांक विभागले देशभरका जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरेको हो।

यो १२औं राष्ट्रिय जनगणना हो।

काभ्रेमा मुख्य गणनाका कार्यका लागि ५ सय ९ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय धुलिखेलले जनाएको छ।

काभ्रेमा घर तथा घरपरिवार सूचिकरणका लागि १ सय २७ जना सुपरिवेक्षक खटाइएका थिए। उनीहरुले असोज १८ गतेसम्म सूचिकरण सम्पन्न गरेका छन्।

यसअघि नै  स्थानीय जनगणना कार्यालय पनौती नगरपालिका, धुलिखेल, पाँचखाल,नमोबुद्ध, रोशी गाउँपालिका, भुम्लुमा गणकहरुको लागि ४ दिने जनगणना तालिम सम्पन्न भएको थियो।

आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस