मुस्ताङमा हिमपहिरो, भागदौड हुँदा कम्तिमा ७ जना घाइते, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २८, आईतबार मा प्रकाशित ९१८ पटक पढिएको
मुस्ताङमा हिमपहिरो, भागदौड हुँदा कम्तिमा ७ जना घाइते, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

कात्तिक २८, काठमाडौं। हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो ।

हिम पहिरोका कारण थासाङ गाउँपालिकाको वडा नम्बर २ को कोवाङ, लार्जुङ, नाउरिकोट, बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो । भाग दौडका क्रममा कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय गरी ७ जना घाइते भएको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिनुभयो । घाइतेहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

उहाँका अनुसार अहिले विद्यार्थी र शिक्षकलगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । यस्तै, हिम पहिरो खसेका कारण बेनी–जोमसोम सडक यातायात समेत अवरुद्ध भएको थियो । हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको छ । अहिले सो क्षेत्रमा तीब्र गतिमा हावा चलेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिले हिम पहिरो रोकिएको र कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीसहितको ६ जनाको प्रहरी टोली घटनास्थल अवलोकन गर्न पुगेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार थासाङ–२ को हिम पहिरो जोखिम क्षेत्रका घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । केही वर्षअघि सो क्षेत्रमा हिम पहिरो खस्दा थासाङ–२ क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको थियो । खर्कको चरनक्षेत्रमा रहेका याक, चौरीहरु समेत मरेका थिए ।

प्रतिक्रिया दिनुहोस