नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान, स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगिता

नौलो समाचार संवाददाता
२०७८ मंसिर १९, आईतबार मा प्रकाशित १०६९ पटक पढिएको
नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान, स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगिता

मंसिर १९, काभ्रे। नमोबुद्ध नगरपालिकाले उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ।
१८ औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज आइतबार एक कार्यक्रमका बीच नगरपालिकाले दुईजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजारसहित सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा वडा नं ४ की स्वास्थ्य स्वयंसेविका शर्मिला रम्तेल र वडा नं. ११ की स्वास्थ्य स्वयंसेविका मञ्जु तामाङ रहनुभएको छ। नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उनीहरुलाई सम्मानपत्र र नगद प्रदान गर्नुभएको थियो।

नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्यं स्वयंसेविका रहेका छन् । उनीहरुले अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा ५ हजार ३ सय १७ जनालाई सेवा दिएका छन् ।
कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि नमोबुद्ध नगरपालिका लागिपरेको बताउँदै सबै वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको जानकारी दिनुभयो। महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको सम्मान गर्दै आएको र आगामी दिनमा पनि थप सेवा सुविधासहित उहाँहरुको कामको मुल्यांकन नगरपालिकाले गर्ने तिमल्सिनाले बताउनुभयो।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वास्थ्यमा संकट आउँदा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण बन्ने गरेको बताउनुभयो। सामुदायिक स्वास्थ्य कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन तथा चेतनाको विकास गर्न मद्दत पुगेको उनले बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुकै कारण बाल तथा मातृ मृत्युदर घटाउन सहयोग पुगेको उहाँले बताउनुभयो।

यसैबीच, दिवसकै अवसरमा नमोबुद्ध नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरेको थियो । प्रतियोगितामा पुरानागाउँ स्वास्थ्यचौकीअन्तर्गतका स्वयंसेविकाको समूह पहिलो, भिडाबारी आधारभुत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको समूह दोस्रो र कुरुगाउँ आधारभुत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको टोली तेस्रो भए भने दाप्चा स्वास्थ्य चौकीअन्तर्गतका स्वयंसेविकाको समूहले सान्त्वना पुरस्कार पाएको छ । पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिएको थियो । प्रतियोगितामा १२ वटा समूह सहभागी थियो ।

कार्यक्रममा नगरपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, नगरपालिका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, स्वास्थ्य शाखामा कार्यरत सरस्वती शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमअघि महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुका टोलीले चेतनामुलक प्लेकार्डसहित नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस