कात्तिक २६, बझाङ। पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो । कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।
पश्चिम नेपालमा लामो समय ठूलो भूकम्प नगएका कारण भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस
शनिबार राति पश्चिम नेपाल केन्द्रविन्दु भएर आएको भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस भएको भारतीय मिडियाले लेखेका छन् । बझाङको पातादेवल केन्द्रविन्दु भएर आएको भूकम्पको धक्का नेपालमा भने कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस भएको थियो ।
अल इन्डिया रेडियोले राष्ट्रिय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै उत्तराखण्डको जोशीमठबाट २१२ किलोमिटर टाढा पृथ्वीको सतहबाट १० किलोमिटर भित्रबाट आएको भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरेको लेखेको छ ।
बीबीसी हिन्दीले सो भूकम्प झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ ।
प्रतिक्रिया दिनुहोस