काभ्रेमा सुरक्षा व्यवस्था कडा, निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालयको आग्रह

नौलो समाचार संवाददाता
२०७९ मंसिर २, शुक्रबार मा प्रकाशित ११८८ पटक पढिएको
काभ्रेमा सुरक्षा व्यवस्था कडा, निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालयको आग्रह

मंसिर २, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले मंसिर ४ गते ढुक्क भएर मतदान गर्न आम मतदातामा आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपूर्वक मतदान गर्न आग्रह गर्नुभएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने मार्गहरुमा सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग प्रमुख चक्रराज जोशीले आग्रह गर्नुभएको हो।

मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन घेरामा निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको छ। मतदानस्थल र वरिपरी कुनै पनि अवरोध एवं अवाञ्छित गतिविधि हुन नदिन व्यापकरुपमा सुरक्षा कडा गरिएको प्रहरी प्रमुख एसपी जोशीले बताउनुभयो।

काभ्रेमा ३ लाख १० हजार ६३ मतदाता छन्। जसमध्ये जिल्लाका १ लाख ५७ हजार ९४७ पुरुष, एक लाख ५२ हजार ११४ महिला र अन्य दुई मतदाता छन्।

निर्वाचन प्रयोजनका लागि ३ हजार ११२ कर्मचारी र १ हजार ५५६ स्वयंसेवक परिचालन गरिएको छ।

यसैगरि जिल्लामा १ हजार ४ नेपाल प्रहरी र १ हजार ८८७ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रराज जोशीका अनुसार निर्वाचनका लागि काभ्रेमा आवश्यक थप  ४ सय २८ प्रहरी व्यवस्थापन गरिएको छ।

१  मतदान केन्द्रमा ८ कर्मचारी र ४ स्वयंवेवक परिचालन हुनेछन्।

५० भन्दा धेरै अस्थायी मतदाता भएका स्थानमा सशस्त्र प्रहरी १५ नं गण पाँचखाल, जिल्ला कारागार कार्यालय, धुलिखेलस्थित कालिजंग गण र नेपाल प्रहरीका लागि एक केन्द्र र भकुण्डेस्थित नेपाली सेनाको बाहिनीमा अस्थायी राखिने भएको छ।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन्। काभ्रेमा ६ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन्। यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस