एसईई : मोरङमा एकै परीक्षा केन्द्रबाट १२७ जना नक्कली परीक्षार्थी पक्राउ, जिल्लाभर १९९ पक्राउ 

नौलो समाचार संवाददाता
२०७९ चैत्र २३, बिहिबार मा प्रकाशित १३२२ पटक पढिएको
एसईई : मोरङमा एकै परीक्षा केन्द्रबाट १२७ जना नक्कली परीक्षार्थी पक्राउ, जिल्लाभर १९९ पक्राउ 

चैत २३, मोरङ। मोरङमा एसईई परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। एकै परिक्षा केन्द्रमा १२७ जना नक्कली परीक्षार्थीले परिक्षा दिईरहेको फेला परेको हो।

मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका मध्ये १९९ जना नक्कली परीक्षार्थी रहेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा १२७ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा १ युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ।

प्रहरीका प्रवक्ता दाहालका अनुसार बिहीबार परीक्षा भइरहेको केन्द्रमा सुक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो। यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट प्रहरीले अनुसन्धान सुरू गरेको उहाँले बताउनुभयो।

बुधबार खुल्लातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन्। मोरङका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख टंक गौतमले परीक्षा दिएका र पक्राउ परेकालाई कानुनी कारबाही हुने जानकारी दिनुभयो।

पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस