जेठ १, हेटौँडा। काभ्रेको पनौती नगरपालिका-४ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् ।
गत वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर प्रहरीको संयुक्त टोलीले मकवानपुर इन्द्रसरोबर गाउँपालिका-५ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इन्द्रसरोबर-५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको छ ।
सहकारी चोरी गर्नेहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले विशेष सूचनाको आधारमा दुईजनालाई पक्राउ गर्न सफल भएको र घटनाबारे थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डीएसपी टेकबहादुर कार्कीले बताउनुभयो।
उनीहरुमाथि थप अनुसन्धान र कारवाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेल ल्याईएको छ। भोलि मंगलबार दिउसो ३ बजे चोरीमा संलग्न अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डुण्डीराज न्यौपानेले जानकारी दिनुभयो।
सम्बन्धित समाचार : मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट
प्रतिक्रिया दिनुहोस