असार ८, ओखलढुङ्गा। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन्।
जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो।
प्रहरी इन्सपेक्टर दासका अनुसार सोही घरका अर्का एक सदस्य १० वर्षीय दिनेश गुरुङ बेपत्ता छन् । उनको खोजी जारी छ ।
पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए ।
प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् । प्रहरी इन्सपेक्टर दासले आफू पनि घटनास्थलतर्फ जाँदै गरेको बताउनुभयो।
पहिरोले चार वटा घर पूर्णरूपमा र अरू केही घर आशिंक क्षति भएका छन् । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस