खाना पकाउन विद्युतीय उपकरण प्रयोगमा जोड

नौलो समाचार संवाददाता
२०८० कार्तिक २०, सोमबार मा प्रकाशित १३६९ पटक पढिएको
खाना पकाउन विद्युतीय उपकरण प्रयोगमा जोड

धुलिखेल\ विजुलीको प्रयोगबाट खाना पकाउने उपकरण उपयोगलाई गति दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नारी चेतना केन्द्र नेपालले धुलिखेलमा काभ्रेका ५ स्थानीय तहसहित सरोकारवालसँग गरेको छलफलमा सहभागीले विद्युतीय उपकरणको प्रयोगले कम लागतमा खाना बन्नुका साथै वातावरण र स्वास्थ्यमा समेत असर नगर्ने तर्क गरे ।

नारी चेतना केन्द्र नेपालले काभ्रेका ५ र बुढानिलकण्ठ नगरपालिकामा ‘दिगो आर्पूर्ति श्रृंखला र माग उत्तेजना सिर्जना गरेर नेपालमा बिजुलीको प्रयोगबाट खाना पकाउने उपकरणको उपयोगलाई गति दिने परियोजना’ सञ्चालन गर्न लागिएको अध्यक्ष सिर्जना पौडेलले जानकारी दिइन् । उनका अनुसार, बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा अनुदानमा १८ सय विद्युतीय प्रेसर कुकर वितरण गरिन्छ । २२ हजार ६ सय बजारमूल्य रहेको प्रेसरकुकर अनुदानपछि १४ हजारमा खरिद गर्न सकिन्छ । कम लागतमा खाना पकाउन सकिने, घरभित्रको वायु प्रदुषण कम गर्न सकिने, विदेशमा परनिर्भर रहेको एलपीजीको उपयोग कम गर्न सकिने, जलविद्युत क्षमता विकास गर्न सकिने र राष्ट्रिय जलवायु लक्ष्य पूरा गर्न समेत टेवा पुग्ने अध्यक्ष पौडेल बताइन् ।

नारी चेतना केन्द्रले स्थानीय नारी चेतना सिपमुलक सहकारी संस्थामार्फत बनेपामा ७ सय २०, धुलिखेलमा ३ सय ६०, धुलिखेलमा ३ सय २०, बेथनाचोकमा १ सय, नमोबुद्धमा ५० र बुढानिलकण्ठ नगरपालिकामा २ सय ५० विद्युतीय प्रेसरकुकर अनुदानमा वितरण गर्ने सचिव शान्ती लामाले जानकारी दिइन् ।

२०७८ सालको जनगणना अनुसार, नेपालमा ० दशमलव ५ प्रतिशत घरधुरीले मात्रै खाना पकाउनको लागि विजुलीको प्रयोग गर्ने पाइएको छ । सरकाले सन् २०३० सम्म २५ प्रतिशत घरधुरीले खाना पकाउने प्राथमिक इन्धनको रुपमा विजुली प्रयोग गराउने लक्ष्य लिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले विद्युतीय उपकरण खरिद गर्ने आर्थिक हैसियत नपुग्ने भएकोले स्थानीय तहहरुले थप अनुदान दिनुपर्ने बताए । उनले जुनसुकै प्रविधी भित्राएपनि सबै पैसा विदेशिने स्थिती बनेको भन्दै चिन्ता प्रकट गरे ।

नमोबुद्ध नगर प्रमुख कुन्साङ लामाले छ्वाली बालेर पानी तताएको समय समेत आफूले गुजारेको भन्दै समयसंगै धेरै प्रविधी विकास भइसकेको बताए । उनले खाना पकाउन विद्युतीय उपकरणको प्रयोग बढाउन नगरवासीलाई अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले विद्युत आपूर्ति बढेकाले यस्ता उपकरणको प्रयोगमा जोड दिए । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले चुल्हो व्यवस्थित भए घर व्यवस्थित हुने तर्क गरे ।

धुलिखेल नगर उपप्रमुख निराजन जंगमले विद्युत उत्पादन बढेकोले उपभोग पनि बढाउनुपर्ने बताए । बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहालले सहकारीमार्फत महिला शसक्तिकरणको लागि खेलेको भूमिकाको प्रशंसा गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा लगायतले खाना पकाउन विद्यूतीय उपकरणको प्रयोग व्यवहारिक र उपयोगी भएको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस