धुलिखेल\ संघीय राजधानी काठमाडौंबाट काठमाडौं विश्वविद्यालय (केयू) परिसर सम्मको दुरी करिब २९ किलोमिटर हो । प्रधानमन्त्री निवास बालुवाटारबाट पनि ३० किलोमिटरको दुरीमा छ काठमाडौं विश्वविद्यालय । राष्ट्रपति निवासबाट केयूसम्मको दुरी करिब ३२ किलोमिटर छ ।
तर, राजधानीबाट सहज सडक सम्पर्क भएको धुलिखेलस्थित काठमडौं विश्वविद्यालयका फरक दुई कार्यक्रममा सहभागी हुन दुई उच्च पदस्थले फरक-फरक यातायातको साधन प्रयोग गरेका छन् ।
छोटो दुरीको कार्यक्रममा आइपुग्न राष्ट्रपति रामचन्द्र पौडेलले सडकमार्ग प्रयोग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले भने हेलिकप्टर प्रयोग गरेका छन् । २०८० असोज २४ गते नेशनल टेक्नोलोजी इनोभेसन सेन्टर उद्धघाटन गर्न आएका पौडेलले सडकमार्ग नै प्रयोग गरेका थिए ।
शुक्रवार उपकुलपतिहरुको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री दाहालले भने ‘कार्यव्यस्तता’ को कारण देखाउँदै नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् ।
११ बजेको लाागि तय भएको कार्यक्रममा प्रधानमन्त्रीकै कारण ९ बजे सारिएको थियो । उद्धघाटन लगत्तै प्रधानमन्त्री दाहालले सम्वोधन गरेका थिए ।
हवाइमार्ग प्रयोग गर्दा जनताले ‘सास्ती’ नपाउने तर्क गरिपनि शुक्रवार हेलिकप्टर र उनको सुरक्षाको लागि उत्तिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस