शंखु \ नेपाल दुरसञ्चार कम्पनी लिं (नेपाल टेलिकम) ले शंखुपाटीचौर क्षेत्रमा अप्टिकल फाइबारमार्फत फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार गरेको छ ।
धुलिखेल नगरपालिका वडा नं १२ र पनौती वडा नं १० को सिमा क्षेत्रमा पर्ने शंखुपाटीचौर र आसपासको क्षेत्रमा फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार गरेको हो ।
दुरसञ्चार कार्यालय बनेपाका प्रमुख जगदिश लेखकका अनुसार, एफटिटिएच प्रविधिमार्फत तीब्र गतिको इन्टरनेट, टेलिफोन र टिभि सञ्चालन हुनेछ । उनका अनुसार, काभ्रेको बनेपा, धुलिखेल, पनौतीका साथैै भकुण्डेवेशी र पाँचखालका केही स्थानमा फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार भइसकेको छ । केही समयमा नै बेथानचोक, बल्थली, दाप्चा, तिनपिप्ले, दोलालघाट र कुन्ता क्षेत्रमा एफटिटिएच सेवा विस्तार गर्न लागिएको लेखकले जानकारी दिए ।
बनेपा कार्यलयमार्फत काभ्रेका अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा सेवा दिइरहेको छ ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले देशभर तिब्र गतिको इन्टरनेट सेवा बिस्तार गर्ने लक्ष्य लिएको भन्दै सरकारलाई बार्षिक २३ अर्व राजस्व योगदान गर्ने बताए ।
नेपाल टेलिकम कम्पनी बाग्मती प्रादेशिक निर्देशनालयका निर्देशक रिना डङ्गोलले स्थानीय मागका आधारमा सो क्षेत्रमा सेवा बिस्तार गरिएको बताइन् ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं १२ का अध्यक्ष मोहनप्रसाद लामिछाने, पनौती वडा नं १० का अध्यक्ष मोहनबहादुर भन्डारी, माधव श्रेष्ठ लगायतले स्थानीय क्षेत्रमा सेवा बिस्तार गरेकोमा आभार प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस