बल्थली / राष्ट्रपति रामचन्द्र पौडेल पनौती–११, बल्थलीस्थित लड्केश्वर धाममा जारी राष्ट्रिय कोटी होम २०८० मा सहभागी भएर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गरेका छन् ।
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गर्न काभ्रेका आएका राष्ट्रपति पौडेल त्यसपछि कोटी होममा सहभागी भएका हुन् ।
सचिवालयका सदस्यसहित आएका राष्ट्रपति पौडेलले केही बेर कोटी होमस्थलमा विताएका थिए ।
उनले कोटीहोमबाट समाज, देश र जनताको कल्याण होस भन्ने कामना समेत गरे ।
ओमकार फाउण्डेशनको आयोजनमा २०८० फाल्गुन २ गतेदेखि लड्केश्वरमा राष्ट्रिय कोटी होम जारी छ ।
स्थानीय महेशराज पौडेलका अनुसार, भक्तपुरका तत्कालिन राजा भुपतेन्द्र मल्लले समेत लड्केश्वर दर्शन गरेको पुरातत्व विभागका दस्तावेजमा उल्लेख छ । पनौती त्रिवेणीधाम दर्शन गर्न आएका मल्लले लड्केश्वर, पलाञ्चोक भगवती र दोलखा भिमसेन दर्शन गरेको उल्लेख छ । सोही आधार लड्केश्वरलाई प्राचिन धार्मिक स्थल मानिदै आएको छ ।
प्रत्येक बर्ष हरिवोधनी एकादशीको दिन लड्केश्वरमा मेला लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस