नमोबुद्धमा गोरु पाल्ने किसानलाई सम्मानसहित ५ हजार अनुदान, जंक फुड निषेध

नौलो समाचार संवाददाता
२०८१ अषाढ ७, शुक्रबार मा प्रकाशित ३४२ पटक पढिएको
नमोबुद्धमा गोरु पाल्ने किसानलाई सम्मानसहित ५ हजार अनुदान, जंक फुड निषेध

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले एक हल गोरु पालि खेती गर्ने किसानलाई सम्मान र अनुदान लिने नीति सर्वसम्मतीले पारित गरेको छ ।

शुक्रबार नगरसभाबाट पारित नीति तथा कार्यक्रममा नगरका सबै स्थान र समयमा कृषि क्षेत्रमा ट्याक्टर प्रयोग सम्भव नहुने भन्दै ‘परम्परागत रुपमा एक हल गोरु पालि खेती किसान गर्ने किसानलाई सम्मान सहित’ पाँच हजार रुपैयाँ नगद अनुदान दिने नीति पास गरिएको हो ।

‘कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार’ भन्ने मूल नारा तय गरेको नगरपालिकाको सभामा नगर प्रमुख कुनसाङ लामाले पेश गरेको नीति तथा कार्यक्रममा नेपाल सरकारसँगको सहकार्यमा ‘प्रत्येक वडामा नमुना फर्म स्थापना गरी सिकाई केन्द्रको रुपमा विकास गरिने’ उल्लेख छ । ‘एक गाउँ, एक कृषि तथा पशु प्राविधिक,’ ‘एक वडा, एक कृषि दुत’ तथा ‘एक पालिका एक पशु चिकित्सक’को व्यवस्थापन गरी किसानको घर–आँगनमा विज्ञ कृषि प्राविधिक सेवा उपलब्ध गराईने उल्लेख छ ।

भकुण्डेबेशीलाई निकटवर्ती पालिका एवं जिल्लाको व्यपारिक केन्द्रको रुपमा विकास गर्न नेपाल सरकार, प्रदेश सरकार एवं निजी क्षेत्रसँग समन्वय एवं सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध चैत्य परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नेपाल सरकार र प्रदेश सरकारसँगको समन्वयमा थप पहल गरिने उल्लेख छ । दाप्चा पुरानो बजार, फूलबारी, भेडाबारी , कानपुर, कोटतेमाल र काँक्रे बजारलाई पर्यटकीय एवं सांस्कृतिक क्षेत्रको रुपमा घोषणा गरिने नीतिमा छ ।

बेरोजगार व्यक्तिहरुको पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचिकृत गरी नगरपालिका भित्र सृजना भएको रोजगारीमा सिफारिस गर्ने, सबै घरपरिवरलाई आधारभूत खानेपानी सेवा उपलब्ध गराउने गरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिईने, कक्षा १ देखि ५ सम्म क्रमशः अंग्रेजी माध्यममा पठन पाठन गरिने उल्लेख छ ।

नगरपालिकाले बिद्यालयलाई जंक फुड (अस्वस्थकर खाना) मुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ ।

बालमैत्री स्थानीय तह घोषणाको तयारीमा जुटेको नगरपालिकामा निर्माण हुने हरेक संरचनालाई वालमैत्री एवं अपाङ्गमैत्री बनाईने नीति लिइएको छ । ‘सफा शहर सबैको रहर’ भन्ने नीति अनुसार नगरपालिका क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रको साझेदारीमा ‘एकीकृत वैज्ञानिक फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्रको निर्माण गरिने’ नीति तथा कार्यक्रममा छ ।

नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाई–फाई नेटको व्यवस्था मिलाईने नीति नगरपालिकाको छ ।

नगर सभाको अर्को बैठक असार १० गते बस्ने तय भएको छ । उक्त दिन नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८१÷८२ को बार्षिक आय तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस