नमोबुद्ध / शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थित शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् ।
नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा र एकिकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष चेत लामाले हस्ताक्षर गरी संयुक्त विज्ञप्ति जारी गर्दै नमोबुद्ध नगरपालिकाले ‘कानूनविपरित, पुर्वाग्रहपूर्ण तथा नियतवश र फगत आफ्नो निहीत उद्देश्य पूरा गर्न आम बालबालिकाको हितविपरीत’ गरेको सरुवाप्रति ‘घोर भत्सर्ना गरिएको छ ।
शिक्षक व्यवस्थापनको ‘तानाशाही स्वरुप’ देखाएको भन्दै शिक्षक संघ, संगठनहरुले समग्र शिक्षा प्रणालीलाई तहसनहस पार्ने कुरामा सचेत रहन र यी र यस्ता गतिविधिहरुलाई खुलेर विरोध गर्न समग्र सरोकारवालाहरुमा अपिल समेत गरेका छन् ।
‘लोकहित विरुद्ध, कानून विरुद्ध’को कार्य रोक्न नमोबुद्ध नगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै ‘योजनाकार कर्मचारीहरु’लाई समेत शिक्षकहरु र आम बालबालिकाहरु माथि गरिएको ‘अमानवीय र क्रूर व्यवहार’को अन्त गरी गल्ती सच्याउन ध्यानाकर्षण गराइएको छ ।
नमोबुद्धभित्र कार्यरत सम्पूर्णत शिक्षक, अभिभावकलाई समेत यस्ता गतिविधिको विरुद्धमा डटेर लड्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस