ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने गिरोहका १० जना समातिए

नौलो समाचार संवाददाता
२०८१ श्रावण २७, आईतबार मा प्रकाशित १६६ पटक पढिएको
ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने गिरोहका १० जना समातिए
प्रतिकात्मक तस्वीर

धुलिखेल /  पछिल्लो समय जिल्लामा बढिरहेको विद्युत् ट्रान्सफर्मरमा रहेको तामाको तार चोरीका घटनामा संलग्न गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा ट्रान्सफर्मरमा रहेको तामाको तार चोरीमा संलग्न दोलखाका २४ वर्षीय प्रेम मिजार, २४ वर्षीय जगन्नाथ बस्नेत, २७ वर्षीय सुनिल ढकाल, २१ वर्षीय प्रविण बस्नेत, ३० वर्षीय दिकुल खत्री, २२ वर्षीय प्रल्लाद बस्नेत, सिन्धुपाल्चोकका २८ वर्षीय कुमार विक, ४२ वर्षीय राजेश विक, २२ वर्षीय सन्तोष विक र काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

डेढ महिनाको अवधीमा विभिन्न स्थानमा खानेपानी र सिंचाईको लागि प्रयोग गरिएका ६ वटा ट्रान्सफर्मर निकालेर त्यसभित्रको तामाको तार चोरी गरी ती सामानहरु बा १ व ७८३४ नं. को माइक्रो भ्यानमार्फत् भक्तपुरका विभिन्न कबाडी पसलमा लगेर बेच्ने गरेको पाइएको श्रेष्ठले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी वृत जगाती समेतको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस