काभ्रे आएर गृहमन्त्री लेखकले निर्माणाधिन प्रहरी प्रशिक्षण प्रतिष्ठानवारे लिए जानकारी

नौलो समाचार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार मा प्रकाशित १२३ पटक पढिएको
काभ्रे आएर गृहमन्त्री लेखकले निर्माणाधिन प्रहरी प्रशिक्षण प्रतिष्ठानवारे लिए जानकारी

पनौती / गृहमन्त्री रमेश लेखकले पनौती नगरपालिका वडा नं ६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन गरेका छन् ।

शुक्रवार काभ्रेको पनौती आएका उनले प्रतिष्ठानका लागि निर्माणाधिन भौतिक संरचना र यसको प्रगतिबारे जानकारी लिएका हुन् ।

निर्माण कम्पनीका प्रमुख इञ्जिनियर राजेश कुमारले गृहमन्त्री लेखकलाई प्रतिष्ठानको भौतिक प्रगति र आर्थिक प्रगतिबारे जानकारी गराएका थिए ।

भारत सरकारको १० अर्ब १ करोड ५० लाख अनुदानमा निर्माण भइरहेको प्रतिष्ठान ३ बर्षमा सक्ने गरी २०७९ असार १३ गते सम्झौता भएको थियो । २०७९ असोज ७ गते तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडले शिलान्यास गरेका थिए ।

प्रतिष्ठानका लागि करिब ६ सय ५० रोपनी क्षेत्रफलको परिसरमा प्रशासनिक भवनका अलावा कर्मचारी आवास, ३५ कक्षा कोठासहितको तालिम कक्ष, प्रयोगशाला, २ वटा तालिम हल, प्रेक्षालय, खेलकुद कम्प्लेकस, सपिङ कम्प्लेक्स, बैंक, एटिएम, ओलम्पिक क्षमताको स्विमिङ पुल, २४ बेडको अस्पताल, हेलिप्याड, हतियार भण्डारण कक्ष, फाइरिङ रेञ्ज निर्माण भइरहेको छ ।


प्रमुख इञ्जिनियर राजेश कुमारका अनुसार, २०८२ असार २८ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको परियोजनाको अवधी ३ सय ३० दिन मात्रै बाँकी रहँदा भौतिक प्रगति ३१ प्रतिशत छ । वित्तिय प्रगति पनि २४ प्रतिशत मात्रै छ । परिचालन गर्न दिएको ठेक्काको १० प्रतिशत रकम समेत जोड्दा वित्तिय प्रगति ३४ प्रतिशत मात्रै छ ।

कार्यत्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उच्च तहको भ्रमण, निरिक्षणले कामको गति बढाउने विश्वास व्यक्त गर्दै समयसिमा भित्रै सम्पन्न गर्न लागि परेको बताए । निर्माणको लागि माष्टर लिष्ट स्विकृत हुन समय लागेको भन्दै उनले योजना समयमा नै सम्पन्न हुनु दुवै देशको लागि गौरवको बिषय भएको बताए ।

जवाफमा गृहमन्त्री लेखकले समयमा नै गुणस्तरीय निर्माण हुने विश्वास व्यक्त गर्दै भारत सरकारले नेपाललाई उपलव्ध गराएको महत्वपूर्ण कामको लागि धन्यवाद व्यक्त गरे । माष्टर लिष्ट स्विकृत गर्ने लगायतका काम समयमा नै हुने आश्वस्त पार्दै उनले नेपालको तर्फबाट कुनै पनि किसिमको समस्या नहुने बताए ।

प्रतिक्रिया दिनुहोस