ईट्टा उद्योग महासंघको वार्षिक साधारण सभा धुलिखेलमा, उद्योगीको समस्याबारे छलफल हुने

नौलो समाचार संवाददाता
२०८१ भाद्र ३१, सोमबार मा प्रकाशित १११ पटक पढिएको
ईट्टा उद्योग महासंघको वार्षिक साधारण सभा धुलिखेलमा, उद्योगीको समस्याबारे छलफल हुने

धुलिखेल /  ईट्टा उद्योग महासंघको १६ औं वार्षिक साधारण सभा सोमबार काभ्रेको धुलिखेलमा हुँदैछ ।

‘वातावरण मैत्री गुणस्तरीय ईट्टा विकासको आधार, नेपाली माटो नेपालमै रोजगार’ भन्ने नाराका साथ हुन लागेको साधारण सभा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्धघाटन गर्नेछन् ।

३ तहका सरकारका नीति, बैंकको व्याजदर र विकास बजेट खर्च नहुँदा बन्द हुन पुगेका उद्योगका समस्या र निराकरणका बारेमा छलफल हुने महासंघका अध्यक्ष शंकरबहादुर चन्दले जानकारी दिए ।
काभ्रे ईट्टा उद्योग व्यवसायी संघको आतिथ्यतामा हुने साधारण सभामा ७ वटै प्रदेशका २५ वटा जिल्ला संघमा आवद्ध व्यवसायी सहभागी हुने काभ्रेका अध्यक्ष जितेन्द्र खायमलीले जानकारी दिए । उनका अनुसार, देशभर करिब १२ सय ईट्टा उद्योगी आवद्ध छन् ।

आर्थिक मन्दी तथा सरकारले विकास खर्च गर्न नसकेको कारण त्यसको प्रत्यक्ष मारमा ईट्टा उद्योगहरु परेको भन्दै झण्डै ३०% ईट्टा उद्योगहरु बन्द भइसकेको चन्दले जानकारी दिए । गत सिजनमा ४ सयको हाराहारीमा मात्रै ईट्टा उद्योगहरु सञ्चालनमा रहेपनि उत्पादन पूर्ण क्षमतामा गर्न नसकेको, उत्पादित ईट्टाहरु पनि विक्री हुन नसकी उद्योग परिसरमा नै मौज्दात हुँदा बैंकको ब्याज र किस्ता सम्म तिर्न गाह्रो परिरहेको उद्योगीहरुको गुनासो छ ।

स्थानीय एवं प्रदेश सरकारहरुले आफ्नो ढंगले कर असुली गर्दा ईट्टाको लागतमा फरक पर्न गई एक स्थानीय तह वा प्रदेशको ईट्टा अर्को स्थानीय तह वा प्रदेशमा जान नसक्ने अवस्था सिर्जना भएको भन्दै त्यसको पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

२०६४ सालमा स्थापना भएको महासंघले स्थापना पश्चात् ‘वातावरण र समाजप्रतिको दायित्व, कर्तव्यबोध’का साथ नेपाल सरकारले ल्याएका विभिन्न नीति तथा कानूनहरुको पालना र विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै वातावरण मैत्री ईट्टा उद्योग स्थापना गरी ईट्टामा देश आत्मनिर्भर रहेको जनाएको छ ।

ईट्टा उद्योगको प्रविधि रुपान्तरणमा अहम भूमिका खेलेको भन्दै महासंघले न्यून प्रदुषण हुने ‘जिकज्याक सेटिङ फायरिङ सिंगल म्यान फिडिङ’ प्रविधिमार्फत क्रमशः प्रदुषण कम गर्दै लगेको र उक्त किसिमको प्रविधिले नेपाल सरकारले तोकेको वायु प्रदूषणको मापदण्ड भन्दा निकै कम रहेको इसिमोडले गरेको सर्वेक्षणले देखाएको महासंघको दाबी छ ।
नेपाल सरकारले लिएको नीति अनुसार सन् २०४५ सम्म कार्वन नेट जेरो मा पुरÞ्याउने लक्ष्यलाई आत्मसात् गर्दै प्रविधिलाई थप रुपान्तरण गर्दै जानेमा प्रतिबद्ध रहेको महासंघले जनाएको छ ।

ईट्टा उद्योगीहरुले पालना गर्नुपर्ने सामाजिक उत्तरदायित्व, श्रम र श्रमिकलाई उचित सम्मान गर्नुका साथै श्रम ऐन र व्यवसायजन्य सुरक्षामा क्रमबद्ध सुधार गर्दै महासंघ आफै र दातृ निकायहरुको सहयोगमा सचेतनामूलक कार्यक्रमहरु मार्फत् उद्योगीहरुलाई सुसूचित गर्दै आएको भन्दै महासंघले इसिमोड, मिनेग्री, आएलओ जस्ता संस्थाको सहकार्यमा ईट्टा उद्योगहरु बालश्रममुक्त , बधुवा मजदूरमुक्त उद्योगका रुपमा स्थापित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस