कांग्रेस सभापति देउवा असोज ५ गते वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न धुलिखेल आउने

नौलो समाचार संवाददाता
२०८१ आश्विन २, बुधबार मा प्रकाशित २१२ पटक पढिएको
कांग्रेस सभापति देउवा असोज ५ गते वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न धुलिखेल आउने

बनेपा / असोज ५ गते शनिवार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा काभ्रेको धुलिखेल आउने भएका छन् ।

धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा स्थापना गरिएको वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवा धुलिखेल आउन लागेका हुन् ।

अनावरणपछि र्यालीसहित धुलिखेल नगरपालिका सभाहलमा औपचारिक समारोहलाई पूर्व प्रधानमन्त्री देउवा, वी.पी. पुत्र एवं नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।

‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा प्रतिमा स्थापना गरिएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वी.पी.) कोइरालाको परिकल्पनामा वि.सं २०१६ सालमा शुरुवात भएको वी.पी. राजमार्ग निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन । नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनःशुरुवात गरेपछि उक्त सडक निर्माणकार्यले सार्थकता पाएको हो । नेपाली कांग्रेसका तत्कालिन सभापति शुशिल कोइराला प्रधानमन्त्री भएको बेला २०७२ सालमा उक्त सडक निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

वी.पी.को परिकल्पना र उनकै नाम रहेको राजमार्ग (वी.पी. राजमार्ग)को सुरुवाती विन्दु धुलिखेलमा वी.पी.कोइरालाको प्रतिमा स्थापना गर्नु वाञ्छनीय ठानेर उक्त प्रतिमा स्थापना गरेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए ।

करिब १५ लाखको लागतमा प्रतिमा तयार गरिएको मुल निर्माण समितिका संयोजक रहेका कांग्रेस जिल्ला सदस्य जीतकृष्ण घिनाञ्जु श्रेष्ठले जानकारी दिए ।

जिल्लाभरबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न सामाजिक व्यक्तित्व सहभागी हुने नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेतले जानकारी दिए ।

तराई र पूर्वी जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको राजमार्ग (वी.पी. राजमार्ग)सञ्चालनमा आएपछि काभ्रे र राजमार्ग जोडिएका जिल्लाका नागरिकको जनजीवन सहज हुनुका साथै आर्थिक समृद्धीमा टेवा पुगेको कांग्रेसको दाबी छ ।

प्रतिक्रिया दिनुहोस