बढ्दो विदेश पलायनका कारण अर्थतन्त्र कमजोर : मन्त्री काफ्ले

नौलो समाचार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ३२ पटक पढिएको
बढ्दो विदेश पलायनका कारण अर्थतन्त्र कमजोर : मन्त्री काफ्ले

बनेपा /  बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बढ्दो विदेश पलायनका कारण अर्थतन्त्र कमजोर बनेको तर्क गरेका छन् ।

बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा शुक्रवारबाट बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा शुरु भएको ‘बनेपा महोत्सव–२०८१’ समुद्धघाटन गर्दै मन्त्री काफ्लेले ठूलो जनसंख्या विदेशमा रहेका कारण मुलुकमा सबै क्षेत्र ‘घाटामा’ रहेको बताए ।

व्यवसायको सुरक्षा राज्यको दायित्व भएको भन्दै व्यवसायीले पनि कर तिरेर सहयोग गर्नुपर्ने बताए । स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले महोत्सव सफलताको कामना गरे ।

स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित विभिन्न विद्यालय, सहकारी, संघसंस्था, क्लवको सहभागितामा महोत्सव समुद्घघाटन गरिएको छ ।

‘व्यापारिक, सास्कृतिक, मनोरञ्जनात्मक खेल मेला’ नाम दिइएको बनेपा महोत्सव–२०८१’ असोज १९ गतेसम्म चल्नेछ ।

जिल्लाको ‘सुन्दर नगरी’ बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांंस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लवका अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिए ।

फुटबल लगायतको विकासमा कृयाशिल क्लवले खेलकुद गतिविधी सञ्चालन गर्न आर्थिक जोहो गर्न मेला, महोत्सवको आयोजना गरिएको मुख्य संयोजक पारषमणि कायस्थले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस