काभ्रेमा बाढी पहिरोको वितण्डा : ६ जनाको मृत्यु, ११ जना वेपत्ता, १० जना जीवितै उद्धार

नौलो समाचार संवाददाता
२०८१ आश्विन १२, शनिबार मा प्रकाशित ५८३ पटक पढिएको
काभ्रेमा बाढी पहिरोको वितण्डा : ६ जनाको मृत्यु, ११  जना वेपत्ता, १० जना जीवितै उद्धार
तस्वीर : सामाजिक सञ्जालबाट

बनेपा /अविरल बर्षापछिको बाढी र पहिरोको कारण हालसम्म काभ्रेमा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । १० जनालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

प्रहरी चौकी खोपासीका अनुसार, पनौती नगरपालिका वडा नं ११, थुम्कीमा स्थानीयको घर पुरिँदा ४ जना सम्पर्कविहिन भएका छन् । गाउँ नै पहिरोको जोखिममा भएपछि त्यहाँका स्थानीयले थुम्की रिसोर्टमा आश्रय लिएका छन् । खोला बढेपछि स्थानीय प्रहरी समेत घटनास्थल जान सकेको छैन ।

बनेपा नगरपालिका वडा नं १४ थालचोकमा पनि पहिरोले घर बगाउँदा २ जना बेपत्ता भएको प्रहरी चौकी साँगाले जनाएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं १, स्यामपाटीमा पहिरोमा परी २ जना बेपत्ता भएपछि प्रहरी चौकी श्यामपाटीबाट प्रहरी टोली उद्धारको लागि खटिएको छ ।

यता, पनौती नगरपालिका वडा नं १२ मा पहिरो आइ स्थानीय गोपाल तिमल्सिनाको घरमा पुरिएका ४ जना मध्ये ३ जनाको जीवितै उद्धार गरिएको छ ।

अविरल बर्षापछिको बाढीले रोशी गाउँपालिका वडा नं १ फलामेसाँघुमा केही घर टहरा बगाएको छ ।

जिल्लामा खोला, नदीका तटीय क्षेत्र डुबानमा परेका छन् भने वी.पी र अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोको कारण सडक अवरुद्ध भएका छन् ।

सुरक्षा र सतकर्ता अपनाउन जिल्ला विपद व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस