बाढी र पहिरोमा फसेका घाइते र अशक्तलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

नौलो समाचार संवाददाता
२०८१ आश्विन १३, आईतबार मा प्रकाशित २०६ पटक पढिएको
बाढी र पहिरोमा फसेका घाइते र अशक्तलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

धुलिखेल / बाढी र पहिरोमा फसेका घाइते र अशक्तलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

रोशी गाउँपालिका मंगलटार, पनौतीको भूमिडाँडा, तेमाल र चौरीदेउराली क्षेत्रबाट घाइते, अशक्त र अलपत्र गरी हालसम्म ९४ जनाको उद्धार गरिएको धुलिखेलस्थित कालीजंग गणका गणपति रहेका प्रमुख सेनानी प्रकाशबादुर सिंहले जानकारी दिए । उद्धार गरिएकामध्ये १३ जना बिरामी छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी बसुन्धरा खड्काका अनुसार, वीपी राजमार्गका विभिन्न स्थानमा अलपत्र रहेका यात्रुको लागि खानेकुरा र पानी समेत बोकेर नेपाली सेनाको हेलिकप्टर प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ ।

वीपी राजमार्गको नेपालथोक, मंगलटार, कालढुंगा लगायतका क्षेत्रमा अझै १ हजार भन्दा बढी यात्रु उद्धारको पर्खाईमा छन् ।

जिल्लामा मानवीय र भौतिक क्षति धेरै भएपनि क्षति यकिन विवरण संकलन भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए ।

बाढी र पहिरोको कारण सडक सञ्जाल र सञ्चार सेवा समेत अवरुद्ध भएका कारण उद्धार र संख्या यकिन गर्न केही कठिनाई भइरहेको उद्धारमा संलग्न अधिकारीहरुले जनाएका छन् ।

जिल्ला भर जाने दुई प्रमुख राजमार्ग वी।पी। राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस