वि.पी राजमार्गमा राती १० घण्टा यातायात संचालनमा रोक

नौलो समाचार संवाददाता
२०८१ आश्विन ३०, बुधबार मा प्रकाशित २५ पटक पढिएको
वि.पी राजमार्गमा  राती १० घण्टा यातायात संचालनमा रोक

भकुण्डेवेशी / असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढी, पहिरो कारण क्षति भएको वि.पी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- बर्षेखोला सडक खण्डमा राती १० घण्टा यातायात संचालनमा रोक लगाइएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना प्रकाशित गरेर सडक बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म संचालनमा रोक लगाएको जनाएको हो ।

काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्र्याक मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भईरहेकोले बीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- बर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातको समयमा यात्रा नगर्न कार्यालयले यसअघि सूचनामार्फत अनुरोध समेत गरेको गरेको थियो ।

बाढी पहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेंसीदेखि वर्षेखोला खण्डका विभिन्न स्थानमा पूर्ण रुपमा बगाएको ८ किलोमिटर भन्दा बढी लम्बाईको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुवहाक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

पूर्वी नेपाल जोड्ने छोटो दुरिको वि.पी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्छन् ।

प्रतिक्रिया दिनुहोस