नेपाली कांग्रेस काभ्रे बाढी पहिरोमा ज्यान गुमाउने सबैको परिवारमा पुग्ने

नौलो समाचार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित २०० पटक पढिएको
नेपाली कांग्रेस काभ्रे बाढी पहिरोमा ज्यान गुमाउने सबैको परिवारमा पुग्ने

बनेपा / नेपाली कांग्रेस काभ्रेले असोज दोस्रो साताको अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने निर्णय गरेको छ ।

शुत्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गर्न र अवस्था बुझ्न १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा नै पुग्ने निर्णय गरेको हो ।

‘यसअघि उद्धार, राहत र सहयोग लिएर सम्बन्धित पालिकामा हामी, पार्टीका साथीहरु र भातृ संगठनहरु पुगिसकेका छौं, मृतक सबैका परिवारलाई समवेदना दिन र अवस्था बुझ्न जिल्ला कार्यसमिति र पार्टीका नेता कार्यकर्ताहरु अनिवार्य जाने निर्णय गरेका छोैं,’ निर्णय सुनाउँदै जिल्ला सभापति तीर्थ लामाले भने । उनका अनसार, जिल्लाका पदाधिकारी, नेताहरु १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा पुग्नेछन् भने जिल्ला सदस्यहरु सम्बन्धित भूगोलमा ज्यान गुमाउनेका परिवारमा अनिवार्य पुग्नुपर्नेछ । उनीहरुले समवेदना प्रकट गर्नुका साथै आवस्यकताका आधारमा सहयोग पनि गर्नेछन् ।

बैठकले बाढी र पहिरो प्रभावित काभ्रेका १३ वटै स्थानीय तहलाई विपद संकटग्रस्त पालिका घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विपद प्रभावित काभ्रेमा खानेपानी, सडक पूर्वाधारको समस्या भएको भन्दै कांग्रेसले तत्कालको लागि अनुदान पठाउन पनि माग गरेको छ । विपदपछिको उद्धार, राहतमा खटिने पार्टीका नेता कार्यकर्ता र सम्बद्ध सबैमा कांग्रेसले आभार पनि प्रकट गरेको छ ।

बैठकले पार्टीमा रिक्त पदहरु पुर्ति गर्न, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका भातृ संगठनलाई पूर्णता दिई चलायमान गर्न निर्देशन दिने र काभ्रे–काठमाडौं सम्पर्क समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस