धुलिखेल अस्पतालमा पहिलोपटक राखियो ‘डुअल पेसमेकर’

नौलो समाचार संवाददाता
२०८१ कार्तिक १३, मंगलबार मा प्रकाशित ६३८ पटक पढिएको
धुलिखेल अस्पतालमा पहिलोपटक राखियो ‘डुअल पेसमेकर’
धुलिखेल अस्पतालमा राखिएको डुअल पेसमेकरको तस्वीर र उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू, सुर्यराज पाठक, निशान भट्टराईसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली । तस्वीर : धुलिखेल अस्पताल

धुलिखेल /  मुटुको धड्कनको गति घटबढ हुँदा हुन सक्ने स्वास्थ्य जटिलता रोक्न ‘डुअल पेसमेकर’ धुलिखेल अस्पतालमा पहिलोपटक राखिएको छ ।

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू, सुर्यराज पाठक, निशान भट्टराईसहित  चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले मंगलबार मुटुमा समस्या भएका एक विरामीमा ‘डबल च्याम्वर (डुअल) पेसमेकर’ राखेका हुन् ।

‘धड्कन नियमित गर्न पेसमेकर राखिन्छ, मुटुमा तार राखेर ब्याट्रीमा जोडेपछि यसले गति नियमित बनाउन सहयोग गर्थ्यो,’ उपचारमा संलग्न डा. कोजूले भने, ‘मुटुको उपचारमा पनि विभिन्न प्रविधीको विकास भएको छ, पहिले एउटा तार राखिन्थ्यो भने अहिले दुइवटा तार राखिन्छ जसले सामान्य मान्छे बराबरको काम गर्दछ ।’

डा. कोजूका अनुसार, मुटुको धड्कन सुस्त चल्नाले शरिरमा एकप्रकारको थकान महसुस गराउन सक्छ भने कसैलाई चक्कर लगेर बेहोस बनाउन सक्छ ।

डुअल पेसमेकर राखेसंगै धुलिखेल अस्पतालमा शुरु भएको मुटुसम्बन्धी एड्भान्स तहको उपचारबाट काभ्रेसहित मध्यपहाडी र तराई जिल्लाका मुटुरोगी लाभान्वित हुनेछन् ।

स्वास्थ्य विमा कार्यक्रम लागू भएको अस्पतालले काभ्रेसंगै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर लगायतका जिल्लाको रिफरल सेन्टरको रुपमा समेत काम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस