नेपालमा महिलाः आधा आकाश ढाकेका महिलाहरुको वर्तमान अवस्था आजसम्म आइपुग्दा धेरै परिवर्तनहरु भएका छन् तथापी जति हुनु पर्ने थियो त्यति संसारमा नै हुन सकेको छैन । विकसित मुलुकमा पनि महिलालाई समान नागरिकको रुपमा हेर्ने, समान हैसियत कायम गर्न चुनौति छ । हाम्रो जस्तो अविकसित देश नेपालमा महिलाको अवस्था पुरुषको तुलनामा समान नहुने नौलो कुरा हुदै भएन । नेपालको जनगणना २०७८ अनुसार, महिलाको जनसंख्या २ करोड ९२ लाख अर्थात ५१ दशमलव १ प्रतिशत छ । जनसंख्या महिलाको बढि छ तर तथ्यांकरुलाई यसो हेर्दा महिला र पुरुष समान देखेपनि पुुरुषको तुलनामा पछाडि नै रहेको पुष्टि हुन्छ । महिलाको उच्च औसत आयु ६९.९ वर्ष छ, यो विगतको तुलनामा राम्रै वृद्धि देखिन्छ । ६९ प्रतिशत साक्षर महिला छन् पुरुष ८४ प्रतिशत छन् । श्रम शक्ति सहभागिता दर २६ प्रतिशत बेरोजगारी दर पुरुष १०.३ प्रतिशत र महिला १३.१ प्रतिशत रहेको छ । राजनीतिमा संघिय संसदमा ३४ प्रतिशत छ भने स्थानीय तहमा पुरुषको वर्चस्व कायमै छ । राष्ट्रिय सभामा ३७ प्रतिशत प्रतिनीधि सभा ३७ प्रतिशत, स्थानीय तहमा प्रमुख ३.३ प्रतिशत, उपप्रमुख २४.४ प्रतिशत, वडा अध्यक्ष्य १ प्रतिशत रहेको छ । निजामति सेवामा २८ प्रतिशत महिलाको सहभागिता छ जस्मा मध्ये सबैभन्दा बढि स्वस्थ्य सेवामा ४९ प्रतिशत र सबैभन्दा कम संबैधानिक पदाधिकारीमा ८ प्रतिशत छ । महिला घरमुली ३१.६ प्रतिशत, सम्पतिमा महिलाको स्वामित्व २३.९ प्रतिशत छ । महिला विरुद्ध हुने हिंसा घरेलु हिंसा अत्याधिक ८० प्रतिशत छ त्यसपछि यौनजन्य हिंसा बलत्कार ११ प्रतिशत छ । यसरी महिला र पुरुष बिचको असमानता प्रष्टि देखिन्छ ।
लैंगिक हिंसाः लैंगिक हिंसा भन्नाले लिंगका आधारमा विशेष गरी महिलालाई गरिएको फरक व्यबहार, असमाबेसी, र महिलालाई गरिएको निषेध तथा हिंसा जस्ले गर्दा महिलाहरुले आफ्नो मानव अधिकारको उपभोग गर्न पाउदैनन र राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक तथा अन्य क्षेत्रमा स्वतन्त्र हुन सक्दैनन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः समाजको अगुवाई गर्ने जिम्मा महिला र पुरुषको बराबरी दायित्व हुदा हुदै पनि एक पक्षलाई विभिन्न अवसरबाट बञ्चित गरेको उपज लैगिंक हिंसा समाजमा व्यापक छ । समानताको आवाज बुलन्द गर्नेहरुको ज्यान लिइएकाहरुको सम्झना स्वरुप मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष संसारभर मनाइन्छ ।
ऐतिहासिक पक्षः डोमेनिकन गणराज्यको मिराइवल परिवारमा जन्मिएका तीन (पेट्रिया, मिनर्भा र मारीया) दिदीबहिनीहरु लाई राजनीति गरेकै कारण तत्कालिन तानाशाही क्रुजिलो सरकारले सन १९६०मा निर्मम् हत्या गरेको थियो र सो हत्यालाई लिंगको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । यसै अनुरुप बिर्सन नसकिने पुतलीहरुको उपनामले पनि चिनिने यी तीन दिदीबहिनीहरुको बलिदान, त्याग र उच्च साहासको सम्मान र सम्झना गर्दै सर्वप्रथम २५ नोभेम्बरलाई ल्याटिन अमेरिकी देशहरुले महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालेका हुन । सन १९९९ मा सयुक्त राष्ट्र संघको साधरण सभाले अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाउने निर्णय गरे पश्चात हरेक वर्ष यो दिवस संसारभर मनाइन्छ । यो घटनाले पनि विगतदेखि वर्तमानसम्म महिलालाई राजनीति अधिकारको क्षेत्रमा सहभागितामा बन्देज रहेको थाहा हुन्छ ।
यस वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखि १० डिसेम्बसर २०२४ तदनुसार १० गते मंसिरदेखि २५ गते मंसीर सम्म अन्तराष्ट्रिय नारा “Towards 30 Years of The Beijing Declaration and platform action MINuTE to End violence against Women” र राष्ट्रिय नाराः“ हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा विद्धको एक्यवद्धता” भन्ने मुल नाराका साथमा सबै सरोकारवाला संघसंथाहरु तथा सरकारी तवरबाट यो दिवसलाई भव्यरुपमा मनाईदै छ । लैंगिक हिंसा दिवस मनाउँदैमा हिंसा कमी हुुने पक्कै होइन तर पनि अभियानको रुपमा सचेतना फैलाउने तथा हिंसा न्युनिकण गर्नको लागि सबैको भूमिका हुनुपर्छ भन्ने भावनाको विकास गर्न सन्देश दिन यो अभियानलाई राष्ट्रिय अन्राष्ट्रिय रुपमा भव्यताका साथ मनाउने गरिन्छ ।
नेपालमा महिला हिंसा : महिला हिंसा आधारभूत मानव अधिकारको उल्ङ्ंघन भएपनि नेपालमा हिंसाका घट्नामा कमी देखिदैन् । महिला विरुद्ध हुने शारीरिक,मानसिक, सामाजिक ,मनोसामाजिक, यौनिक हिंसाहरु मध्ये घरेलु हिंसामा घरेलु हिंसा अध्याधिक छ दर्ता हुने उजरीमध्ये ८० प्रतिशत घरेलु हिंसा छ । बलत्कारका घट्ना ११ प्रतिशत र बलत्कार प्रयासमा ३ प्रतिशत छ । सबै हिंसाहरु दर्ता हुँदैनन् । हिंसालाई कर्मको फल भनेर स्वीकार गरेर बस्ने परम्परा,घरपरिवारको इज्जत जाने डर तथा उजुरी गरेमा कहाँ जाने भन्ने चिन्ताले महिलाहरु आफुमाथि भएको हिंसालाई सहेर बस्ने गर्दछन् । घरेलु हिंसा के शहर के गाउँ जताततै छ बागमति प्रदेशमा सबैभन्दा बढि घरेलु हिंसा देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार, सबै भन्दा कम कोशी प्रदेशमा ०.५ प्रतिशत छ । २४ प्रतिशत महिलाले जीवनको कुनै न कुनै समयमा शारीरिक तथा यौनिक हिंसाको अनुभव गरेका छन् । ५९ प्रतिशत प्रतिशत महिला आत्महत्या गर्ने गरेको र आत्महत्या गर्नु पूर्वको अवस्था हिंसामा परेको तथ्यांक भेटिएको पाईन्छ । महिलाहरु हिंसामा बढि पर्ने र अन्तिम विकल्पमा मृत्यु रोज्ने गरेको देखिन्छ ।
लैगिंक हिंसाका कारण : पितृसतात्मक सामाजिक संरचना , हाम्रो सोच र ब्यवहार ,समाजमा निर्माण भएको महिला र पुरुषबीचको विभेदहरु लैंगिक हिंसाका कारणहरु हुन् । नेपालमा विषेश गरी दाइजो, बोक्सी, छाउपडी,छुवाछुत लगाएतका कुप्रथा, अन्धविश्वास तथा कुसंस्कार, मादकपदार्थको सेवन, महिला प्रतिको सामजिक सोचाई, शैक्षिक तथा रोजगारीको अवसरमा कमी, सम्पतिमाथि महिलाको अधिकार नहुनु, पितृसत्तताात्मक सोचका कारणबाट महिलाहरु घरेलु हिंसा, बलात्कार तथा यौनजन्य हिंसा, कार्यस्थलमा हुने हिंसा, आर्थिक तथा साकृृतिक हिंसा लगायत विभिन्न स्वरुपमा लैङ्गिक हिंसाका सिकार भइरहेका छन् ।
हिंसा सम्बन्धि नेपालमा भएको कानुनीव्यवस्थाः
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार :
१. कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीनहजार रुपैयाँ देखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
२. घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
३. घरेलु हिंसाको कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुनेछ ।
४. सार्जजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले यस ऐन बमोजिम अदालतबाट दिएको आदेश पालना नगरेमा त्यस्तो व्यक्तिले यस ऐन बमोजिमको कसूर गरेमा निजलाई थप दश प्रतिशत सजाय हुनेछ ।
५. कसैले दफा ६ बमोजिम अदालतबाट दिएको आदेश पालना नगरेमा त्यस्तो व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिबाना वा चार महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
त्यसैगरी कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ अनुसारः
यौनजन्य कसुर गरेको ठहरेमा ६ महिनासम्म कैद वा ५० हजार रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुने ।
हिंसा समाधानका उपायहरु :
महिलाविरुद्ध हुने सवै प्रकारका हिंसालाई रोक्न तथा कम गर्न जनचेतना फैलाउने ,सहेर नबस्ने र हिंसाको सामुहिक रुपमा प्रतिकार गर्ने, कानून बनाई यस्तो कार्य निर्मूल गर्ने काममा स्थानिय सरकारका साथै समुदाय र गैरसरकारी संस्थाहरुलाई पनि अग्रसर गराउनु पर्छ । सवै स्थानिय तहबाट यस्तो कार्य रोक्ने प्रयास जारी राख्नु पर्छ । रोजगारीको व्यवस्था गर्न जरुरी छ ।
हिंसा अन्त्यका लागि कसको के दायित्व ?
सामान्य महिला तथा पुरुष : जो हिंसात्मक व्यवहार गर्दैनन् र यस्तो व्यवहार हुन नदिन महिला माथीहुने हिंसाको विरुद्धमा उभिन्छन् र साथै अन्य व्यक्तिहरुलाई यस्तो व्यवहार अपनाउनको लागि प्रेरीत गर्छन् ।
युवायुवतीहरु : जो महिला माथि हुने हिंसाविरुद्धको मौनतालाई भंग गर्छन्, यसको विरुद्धमा अडान लिन्छन्, लैंगिक समतामूलक व्यवहारलाई अपनाउछन् र अरुलाई पनि यस्तो व्यवहार अपनाउनको लागि प्रेरीत गर्छन् ।
राज्यका नीतिनिर्माणकर्ताहरु : जसले हिँसाबाट प्रभावितव्यक्तिहरुको पक्षमा नीतिनिर्माण गर्ने र कार्यान्वयन गर्नेछन् ।
लैगिक हिंसा भनेको सभ्य समाजको कलंक हो । हिंसारहित समाज निर्माण गर्नको लागि हामी सबैले आफ्नो व्यवाहारमा परिवर्तन गर्न जरुरी छ । अधिकार र कतव्र्यलाई आत्मसात गरी एक अर्काको अस्तित्वलाई स्वीकार गर्नु पर्छ । महिला र पुरुषका एक सिक्काका दुईपाटा हुन भन्ने कुरा गफ, नारामा नभएर व्यवहारमा लागु गर्न तयार भएमा सबै नागरिकहरुको समाज परिवर्तन समाज समुन्नत बनाउनमा उतिकै भूमिका रहन्छ । रोएको अनुहार बोकेर सुखी भएको अनुभूत गर्न सकिदैन भनी आफै सचेत नभए सम्म लैंगिक हिंसा कम नहुने र लैंगिक हिंसा कम नभएसम्म घर परिवारमा समाज राष्ट्रमा नकारात्मक प्रभाव र आर्थिक भार समेत परिरहन्छ भन्ने कुरा सबैले मनन नगरे सम्म हिंसा रहिरहन्छ । हिंसा न्युनिकरण समाजका सबै वर्गको हो भन्ने चेत खुलेमा मात्र यो दिवसकोे सार्थकता हुन्छ ।
(लेखक सुनुवार, नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखामा कार्यरत छिन् । प्रस्तुत विचार लेखकका नीजि हुन् ।)
प्रतिक्रिया दिनुहोस