धुलिखेल / धुलिखेल र पनौतीमा देखिएको खानेपानीको अभाव तत्कालको लागि समाधान गर्ने गरी धुलिखेल र पनौती नगरपालिकावीच सहमति भएको छ ।
धुलिखेलवासीले प्रयोग गर्दै आएको पनौती नगरपालिका वडा नं १२ स्थित पानीको मुहानमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गरी खानेपानी खुवाउने गरी दुई नगरपालिकाका जनप्रतिनिधी र उपभोक्ता समितिविच सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सुरक्षा समितिका पदाधिकारीको उपस्थितीमा धुलिखेल नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, धुुलिखेल नगर उप–प्रमुख निराजन जंगम, पनौती नगर उप–प्रमुख गिता बञ्जरा, पनौती नगरपालिका वडा नं. १२ कलाती, भूमिडाँडाका वडा अध्यक्ष जयराम के.सी,धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण भूषण खोंजु श्रेष्ठविच‘ क्षतिग्रस्त संरचना तत्काल पुननिर्माण थाल्ने’ बिषयमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार, पनौती नगरपालिका देखिएको खानेपानीको अभाव समेत टर्ने गरी धुलिखेल खानेपानी उपभोक्ता समितिले प्रयोग गर्दै आएको सप्तकन्या मुलको श्रोत प्रयोग गर्नेछ । पनौतीमा देखिएको खानेपानीको अभाव टार्न तत्कालको लागि एकिकृत खानेपानीले प्रयोग गर्दै आएको बैरा महादेव मुलको श्रोत प्रयोग गरिनेछ ।
तत्काल पनौती नगरपालिकाको वजार क्षेत्रमा खानेपानीको आपुर्ति लाई ध्यानमा राखी खानेपानीको श्रोत व्यवस्थापन अर्को व्यवस्थापन नहुन्जेल सम्मको लागि पनौती नगरपालिका वडा नं. १२ को बैर महादेव मुलडोलको स्रोत बाट पनौती बजार लाई खानेपानीको स्रोतको व्यवस्था गर्ने सहमतिपत्रमा उल्लेख छ । काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको स्रोत पनौती नगरपालिका वडा नं. १२ बैर महादेवको स्रोत एकिकृत खानेपानी आयोजना सम्पन्न हुँदा वैर महादेव मुलडोलको स्रोत एकिकृतमै समाहित गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिवाट तत्कालै स्रोत क्षेत्रमा क्षति भएकोमा उक्त खानेपानीको निर्माण कार्य थालनी गर्ने र धुलिखेल वासीलाई दीर्घकालिन खानेपानीको व्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी संरचना निर्माण गरी तत्कालिन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने उल्लेख छ ।
पनौती नगरपालिकाको भौतिक संरचना अत्याधिक क्षति भएको सन्दर्भमा खानेपानीको पुनःनिर्माणको लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका तथा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त प्रयासमा आवश्यक आर्थिक तथा भौतिक साझेदारी गरी तत्कालको लागि पनौतीको खानेपानीको समस्या समाधान गर्न पहल गर्ने सहमति भएको छ ।
पनौती नगरपालिका वडा नं १२ को कलाति भुमिडाँडा एकिकृत खानेपानी उपभोक्ता समितिको एक घर एक धारा अभियानलाई धुलिखेल खानेपानी उपभोक्ता समितिवाट निर्माण गरिदिने र खानेपानीको कार्य सम्पादनमा अन्य समस्या आए वा यस सम्झौतामा गरिएको कुनै विषयमा थप छलफल आवश्यक भएमा संयुक्त बैठक बसी समाधान खोज्ने र आगामी दिनमा यस खानेपानी आयोजनाको सफलता र समस्या समाधान गर्न सदैव लाग्ने र दुई नगरको साझा सवालमा समेत संयुक्त प्रयासमा समस्या हल गर्दै जाने प्रतिवद्धतामा धुलिखेल पनौतीका जनप्रतिनिधी र उपभोक्ता समितिले हस्ताक्षर गरेका छन् ।
काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको खानेपानी वितरण ‘समानुपातिक नभएको’ र पनौतीलाई ‘अन्याय’ भएको भन्दै नगरको खानेपानी समस्या समाधान हुने गरी सम्झौता पुनर्विचार भएपछि मात्रै धुलिखेलमा पानी पठाउने अडानमा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी थिए । ‘पनौतीले खानेपानी दिन चाहेन भन्ने भाष्य र भ्रम सिर्जना गर्न खोजिएको थियो, त्यो कदापी हैन,’ नगर प्रमुख भण्डारीले भने, ‘एकिकृत खानेपानीको असमान वितरण पुनर्विचार र पनौतीको खानेपानी समस्या समाधान हुनुपर्छ भन्ने कुरा राखेको हुँ, त्यही अनुसार सहमति भएको छ ।’
बाढी र पहिरोले संरचना क्षतिग्रस्त भएको लामो समयपछि पनि खानेपानी उपलव्ध हुन नसकेको भन्दै चोतर्फी आलोचना हुँदै आएको थिए ।
धुलिखेलका प्रमुख राजनीतिक दलहरु, नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल धुलिखेल नगर कार्यसमिति लगायतका सरोकारवालाले खानेपानीको आपूर्ति तत्काल गराउन जनप्रतिनिधी र प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति तिर्थ लामा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई लगायतका सरोकारवालाहरुले सहजीकरण गरेका थिए ।
धुलिखेल नगरपालिकाको खानेपानी समस्या समाधान गर्न र पनौती क्षेत्रमा हुने पुननिर्माणका लागि नगर प्रमुख अशोक व्याञ्जुले विभिन्न दातृ निकायबाट सहयोगको प्रतिवद्धता आएको र सरकारी निकायमा ध्यानाकर्षण गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस