धुलिखेल / नेपाल पत्रकार महासंघ काभ्रे शाखामा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ ।
१२ औं जिल्ला अधिवशेनबाट विनोदकुमार न्यौपानेको अध्यक्षतामा निर्वाचित कार्यसमिति, संघ र प्रदेश परिषद् सदस्यलाई प्रमाण–पत्र वितरण गर्नुका साथै पदस्थापन गरिएको हो ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल काभ्रेका साझा उम्मेदवार रहेका न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष (महिला) मा सम्झना गौतम, सचिवमा नगेन्द्र अधिकारी, कार्यसमिति सदस्य (महिला) मा सविता न्यौपाने, सदस्य (आदिवासी जनजाती)मा चमारसिं लामा निर्विरोध निर्वाचित भएका थिए ।
उपाध्यक्षमा कपिल कोइराला, सहसचिवमा देवराज केसी , सहसचिव (समावेशी) मा निरन्जुल कायस्थ, कोषाध्यक्षमा केशवराज पौडेल र सदस्यहरुमा ज्ञानमणी नेपाल, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, पुरुषोत्तम ढकाल, विकास तिमल्सिना, रन्जित बोहरा, शरणप्रसाद हुमागाईं र केन्द्रीय परिषद् सदस्यमा प्रदिप केसी निर्वाचित भएका थिए ।
संघीय परिषद् सदस्यमा सम्झना हुमागाई र रामचन्द्र दनुवारका साथै बागमती प्रदेश परिषद सदस्यमा प्रशान्त श्रेष्ठ, जानुका खदाल, सुकदेव थपलिया, भरत अधिकारी, रामहरि श्रेष्ठ र राज्यलक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन समितिका संयोजक भोजराज तिमल्सिना, सदस्य महेशराज पौडेल र अधिवक्ता महेश कुँवरले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गोकूलप्रसाद बास्कोटाले नेपाली प्रेस अझै जिम्मेवार हुनुपर्ने बताए । सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्छ भन्ने आफ्नो प्रस्ताव सञ्चारमाध्यमले नै विश्वास नगरेको भन्दै उनले अन्ततः सामाजिक सञ्जालहरु करको दायरामा आएको बताए ।
बाग्मती प्रदेशका पूर्व मन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले आफू र पार्टी सधै पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै व्यक्ति र विचारका आधारमा मात्रै समाचार नलेख्न अनुरोध गरे ।
बाग्मती प्रदेशका पूर्व मन्त्री रहेका प्रदेश सभा सदस्य रत्न ढकालले साझा मुद्दामा सबै मिल्नुपर्ने सन्देश मुलुकले दिएको बताए ।
नेपाल पत्रकार महासंघका कार्यावहाक अध्यक्ष बाला अधिकारीले निर्वाचन नै नहुने अवस्थामा पुगेको महासंघलाई यो अवस्थासम्म ल्याएको भन्दै सबैको साथ र सहयोगले सम्भव भएको बताइन् । सदस्यताको विवादको कारण सञ्चारकर्मी र सञ्चारमाध्यमका मुद्दा ओझेलमा परेको भन्दै उनले अबको नेतृत्व त्यसमा केन्द्रित हुनुपर्ने बताए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले पत्रकारिताका चुनौती सामना गर्न नेतृत्व सक्षम होस् भन्ने शुभकामना दिए ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले महासंघसंगको समन्वय र सहकार्य अझै बढाउने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले आफ्नो कार्यकालमा भएको कार्यप्रगति प्रस्तुत गर्दै संस्थागत विकास, समानुपातिक वितरण, कोष, पूर्वाधार निर्माण, समन्वय, सहकार्य, क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा भएको बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेका नवनिर्वाचित अध्यक्ष विनोदकुमार न्यौपानेले सबैको सहकार्य र समन्वयले पत्रकारको क्षमता अभिवृद्धि र संस्थागत विकासको लागि सपथको जतिकै उर्जासहित कार्यकालभरी काम गर्ने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिवेशन सम्पन्न गराउन सहयोग गर्ने निर्वाचन समिति लगायतलाई कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस