साँगा / ३० औं संस्करणको आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधी एपिएफ स्कूल किर्तिपुरले जितेको छ ।
आयोजक नेपाल पुलिस स्कूल साँगाको टिम एनपिएस ‘रेड’लाई ३–० ले हराउदै एपीएफले उपाधी जितेको हो ।
एपीएफको तर्फबाट खेलको १९ आंै मिनेटमा आत्माघाती गोल भएको थियो । खेलको ४४ औं मिनेटमा एफिएफकै विकास बोहोरोले गोल थपेपछि एपिएफले २–० को अग्रता बनाएको थियो । सिरिजभर १७ गोल गरेर हाइ स्कोरर बनेका अविन बस्यालले ६५ मिनेटमा गरेको गोलपछि ३–० को फराकिलो जित निकालेको हो ।
नेपाल पुलिस स्कूल दाङलाई ३–० को गोल अन्तरले पराजित गर्दै आयोजक नेपाल पुलिस स्कूल साँगाको टिम एनपिएस ‘रेड’ टिम फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कूल धरानलाई ३–१ को गोल अन्तरले पराजित गर्दै एपीएफ स्कुल किर्तिपुर फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिता अवधीभर १७ गोल गरेका एपिएफका अविन बस्याल हाइ स्कोरर, नेपाल प्रहरी सांगाका नसिव योञ्जन प्लेअर अफ द टुर्नामेन्ट, एफिएफका रोशन बुढा उत्कृष्ट गोलकिपर र एपिएफका दिपेश गुरुङ म्यान अफ द म्याच घोषित भए ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले विजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ जितेका छन् ।
प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित १५ विद्यालयका १६ टिमले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउट आधारमा सञ्चालन भएको प्रतियोगितामा नेपाल पुलिसकै सामाखुसी, धरान, दाङ र चितवनस्थित स्कुलसहित काभ्रे र काठमाण्डौ उपत्यकाका विभिन्न विद्यालयहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस