नमोबुद्धमा परिवार नियोजन शिविर, १ सय २४ जनाले सेवा लिए

नौलो समाचार संवाददाता
२०८१ पौष ७, आईतबार मा प्रकाशित २३५ पटक पढिएको
नमोबुद्धमा परिवार नियोजन शिविर, १ सय २४ जनाले सेवा लिए
उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीसहित आयोजक टोली ।

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोट अस्पतालमा भएको परिवार नियोजन शिविरमा १ सय २४ जनाले सेवा लिएका छन् ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकको आयोजना, नेपाल परिवार नियोजन संघ काभ्रेपलान्चोक शाखा बनेपाको प्राविधिक सहयोग र नमोबुद्ध नगरपालिकाको समन्वयमा भएको शिविरमा ७ जनाको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी), ७ जनालाई लामो अवधिको परिवार नियोजनको अस्थायी साधन (आइ.यु.सि.डी र इम्प्लान्ट) राखिएको र ६ जनाको इम्प्लान्ट निकालिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिए ।

परिवार नियोजन अधिकृत पद्मराज कैनीका अनुसार, शिविरमा ६५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । पाठेघरको समस्या, यौनरोग र स्त्रीरोग सम्बन्धी परामर्शसहित १ सय २४ जनालाई सेवा दिइएको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख सुनिल के.सीले जानकारी दिए । निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

धुलिखेल अस्पतालका डा. सानुकृष्ण श्रेष्ठ, डा. विराट आचार्य लगायतका चिकित्सक, मेथिनकोट अस्पतालका साथै नेपाल परिवार नियोजन संघ काभ्रे शाखाका स्वास्थ्य जनशक्तिले सेवा दिएका थिए ।

जनस्वास्थ्य कार्यालयले यसअघि महाभारत गाउँपालिका र पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिसकेको छ । पुष ११ गते पनौती, १७ गते भुम्लु र १८ गते बनेपा नगर अस्पताल नालामा शिविर सञ्चालनको तयारी गरेको परिवार नियोजन संघ काभ्रे शाखाका कार्यालय प्रमुख रमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस