बनेपा / नेपाल रेडक्रस सोसाइटी काभ्रेले असोज १० देखि १२ को अविरल बर्षापछिको बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि ‘डिग्निटी किट’ वितरण गरेको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युनएफपिए) र रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसिआरसी) को सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिमार्फत प्राप्त ७ हजार ५ सय ४२ थान ‘डिग्निटी किट’ काभ्रे शाखाले बेथानचोक, रोशी गाउँपालिका र पनौती नगरपालिकामा वितरण गरिरहेको हो ।
बाढी तथा पहिरो प्रतिकार्य कार्यक्रम अन्तर्गत पनौती र रोशीमा २ हजार ५ सय थान र रोशीमा २ हजार ५ सय ४२ थान ‘डिग्निटी किट’ वितरण गरिने कार्यक्रम संयोजक रघुनाथ हुमागाईले जानकारी दिए । ‘डिग्निटी किट’ मा महिला तथा किशोरीले प्रयोग गर्ने कपडाका साथै सरसफाईका सामाग्री छन् । कार्यक्रम अन्तर्गत नै युनएफपिएको सहयोगमा रोशी गाउँपालिकाका १ सय ७१ जना गर्भवती तथा सुत्केरीलाई १५ हजारका दरले नगद सहयोग समेत गरिएएको छ ।
मंगलबार पनौती नगरपालिका अन्तर्गत पनौती उपशाखा र सुब्बा गाउँ उपशाखामार्फत वडा कार्यालय र चौकोटमा ‘डिग्निटी किट’ वितरण गरियो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा सभापति देवेन्द्रप्रसाद भैल, निवर्तमान सभापति रघुनाथ हुमागाई, उपमन्त्री प्रदिप के.सी, पुर्वमन्त्री विश्वनाथ ताम्राकार, कार्यसमिति सदस्य बिलबहादुर श्रेष्ठ, पनौती वडा नं ५ का अध्यक्ष विनोद खत्री, वडा नं ७ का अध्यक्ष सविन ताम्राकार, नेपाल रेडक्रस सोसाइटी पनौतीका सभापति राजु ताम्राकार, सुब्बागाउँका सभापति अच्युतप्रसाद अधिकारी लगायतका पदाधिकारीले वितरण गरेका थिए ।
असोज १० देखि १२ को अविरल बर्षापछिको बाढी तथा पहिरो प्रभावितलाई रेडक्रसले पनौतीका १२ वटै वडाका ९ सय ५८ घरधुरीलाई १५ हजारका दरले १ करोड ४३ लाख ७० हजार, बेथानचोक वडा नं २ र ४ का २ सय ४१ घरधुरीलाई १५ हजारका दरले ३६ लाख १५ हजार र फरक क्षमता र मृतक परिवारका ७५ जनालाई १५ हजारका दरले सहयोग राहत वितरण गरेको थियो ।
बाढी तथा पहिरो प्रतिकार्य कार्यक्रम अन्तर्गत नै पनौती वडा नं १ का ४ सय १५ घरधुरी लाभान्वित हुने गरी २० लाख बराबरको खानेपानीका अस्थायी ८ योजना सम्पन्न भएको र बेथानचोक वडा नं २ र ४ का १ हजार घरधुरी लाभान्वित हुने गरी ३० लाख बराबरका ९ वटा योजना र पनौतीका २३ वटा अस्थायी खानेपानी योजना सम्पन्न हुने अन्तिम चरणमा रहेको कार्यक्रम संयोजक हुमागाईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस