धुलिखेल / एचआईभी संक्रमितहरुको उपचारको लागि गास र बासको प्रवन्ध हुँदै आएको परियोजना समाप्त हुने चरणमा पुगेपछि संक्रमित र अधिकारकर्मीमा अन्यौलता छाएको छ ।
ग्लोबल फण्ड मार्फत सेभ द चिल्ड्रनको सहयोगमा सञ्चालन भइरहेको कम्युनिटी केयर सेन्टर परियोजना काभ्रेमा निरन्तरता हुने/नहुने टुंगो नलाग्दा यहाँ सेवा लिने संक्रमितहरु अन्यौलमा छन् । परियोजनामार्फत संक्रमितलाई खान, बस्न निशुल्क हुनुका साथै अस्पताल लैजाने सुविधा छ । सेभ द चिल्ड्रनकै सहयोगमा सञ्चालित होम बेस्ड केयर (घरदैलो सेवा) भने निरन्तर हुनेछ ।
एचआईभी संक्रमितको अधिकारका लागि निरन्तर कृयाशिल सक्रिय प्लस नेपालका अध्यक्ष अमिर खड्काले सन् २०२५ देखि कम्युनिटी केयर सेन्टरको परियोजना काभ्रेमा निरन्तर नभए यहाँ सेवा लिएका धेरै संक्रमित उपचारबाट बञ्चित हुने बताए । ‘ सेभ द चिल्ड्रनले सञ्चालन गरेको परियोजना अब संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मार्फत सञ्चालन हुनेछ , कम्युनिटी केयर सेन्टर परियोजना सञ्चालनमा रहेका ५१ वटा स्थान कटौती गरेर अब २५ स्थानमा मात्रै सञ्चालन हुने जानकारी आएको छ,’ उनले भने, ‘यहाँ भएको कम्युनिटी केयर सेन्टर कटौती भए बनेपामा बसेर धुलिखेल अस्पतालमा उपचार गराउने संंक्रमित प्रभावित हुन्छन् ।’
उनका अनुसार, कम्युनिटी केयर सेन्टरमा ५ जनासम्मलाई निशुल्क खान र बस्नको व्यवस्था भएपछि संक्रमितले धुलिखेल अस्पतालमा शल्यक्रिया लगायतका सेवा पाएका छन् । अन्य अस्पतालले संक्रमित भन्ने थाहा पाएपछि उपचार गर्न हिच्किचाउने भएपनि धुलिखेल अस्पतालले शल्यक्रिया समेतको सेवा दिइहेको छ । सन् २०१६ यता कम्युनिटी केयर सेन्टरमार्फत करिब ५ सय जनाले सेवा लिइसकेका छन् । अन्यत्र जिल्लाका संंक्रमितले समेत काभ्रेबाट सेवा लिने गरेका छन् ।
घरदेलो सेवा संक्रमितको औषधी, स्वास्थ्य अवस्था देखि परामर्श समेत गरिन्छ । २ देखि ३ महिनामा कम्तीमा एक पटक स्वास्थ्यकर्मीसहितको टोली संक्रमितकोमा पुग्छन् । काभ्रेमा १ सय ८६ संक्रमित मध्ये १ सय जनाले धुलिखेल अस्पतालमा मासिक रुपमा नियमित औषधी लिइरहेका छन् । अन्य जिल्लाका संक्रमितले पनि काभ्रेमार्फत औषधी सेवन गरिरहेका छन् ।
जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले परियोजना समाप्त भएपछि पनि कार्यक्रमको अपनत्व लिएर संक्रमितको लागि काम गर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस