काभ्रेमा एक बर्षमा मानवअधिकारबाट बञ्चित गराइएका १६९ घटना

नौलो समाचार संवाददाता
२०८१ पौष १६, मंगलबार मा प्रकाशित ६५ पटक पढिएको
काभ्रेमा एक बर्षमा मानवअधिकारबाट बञ्चित गराइएका १६९ घटना

धुलिखेल /  सन् २०२४ मा काभ्रेमा मानवअधिकारबाट बञ्चित गराइएका १ सय ६९ घटना अभिलेखमा रहेको तथ्याकं प्रस्तुत भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्थाको विषयमा छलफल गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार आयोजना गरेको कार्यक्रममा मानवअधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

समग्र जिल्लाको मानवअधिकार अवस्था उल्लेख गर्दै तिमल्सिनाले सन् २०२४ मा काभ्रेमा घरेलु हिंसाका १८५ ओटा घटना इन्सेकमा अभिलेख भएको बताए । घरेलु हिंसाका उजुरीमध्ये १२५ थान मुद्दा मिलापत्र भएपनि ५९ जना निवेदन दिएपछि सम्पर्कमा नआएको बताए । पीडितमध्येका सबैभन्दा बढी जनजाति समुदायको रहेको र अन्र्तजातिय, प्रेम, बाल र अनमेल विवाहका कारण दाम्पत्य जीवनमा समस्या देखिएकाले आर्थिक मन्दी, राजनीतिक अर्थ व्यवस्था, न्यायिक समितिको कम प्रभावकारिता जस्ता कारणले ८२ वर्षका जेष्ठ नागरिक समेत पटक पटक प्रहरी कार्यालयमा आउनुपर्ने बाध्यता रहेको उल्लेख गरे । यो बर्ष जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ३ थान घरेलु हिंसाका मुद्दा परे पनि अदालतमा सम्वन्ध विच्छेदका ५४६ थान मुद्दा परेको र कारागारमा कोठा नपुगेर टेन्ट राखेर बस्नुपर्ने बाध्यता रहेको दाबी गरे । बाढीपहिरो, आत्महत्या, बैंकिङ कसुर, अपराध र विपत्तिका घटनाका कारण मानव अधिकारको अवस्थामा कमजोरी आएपनि सचेतनाका माध्यमबाट न्यूनिकरण गर्न जोड दिए ।

पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले बाढी पहिरो जस्ता विपदपछि समाजमा मानसिक समस्या देखिएकाले समुदायको सशक्तिकरण, सचेतना र सामाजिकीकरणमा जोड दिनुपर्ने बताइन् । जिल्लामा घरेलु हिंसा र सम्वन्ध विच्छेदका घटना बढेको बताउँदै हिंसा र अपराधलाई न्युनिकरण गर्न आवश्यक रहेको तर्क गरिन् ।

नेपाल बार एशोसियसन काभ्रेका अध्यक्ष हरिशरण दाहालले आर्थिक मन्दीका कारण समाजमा अनुचित लेनदेनका घटना बढेको र सामाजिक समस्यालाई छलफलका माध्यमबाट समाधान गर्न आवश्यक रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका विषयलाई मेलमिलाप नभएर कार्वाहीको दायरामा लैजान सुझाव दिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य टोम सापकोटा, नेपाल मानवअधिकार संगठन बागमति प्रदेशका अध्यक्ष राजु सिग्देल, माइती नेपालकी जिल्ला कार्यक्रम संयोजक गायत्री गौतम, जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी राजकुमारी प्यासी श्रेष्ठ, जिल्ला अदालत काभ्रेपलाञ्चोककी अधिकृत हिराकुमारी भण्डारी, सक्रिय प्लस नेपालका कमल बन्जारा र महिला अधिकारकर्मी कल्पना विश्वकर्मा, इन्सेक जिल्ला प्रतिनिधी सुमित्रा आचार्य लगायतले मानवअधिकार सबैको साझा सवाल भएकोले सरोकारवालाको भूमिका अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस