बेलर स्कुलमा ‘राष्ट्रिय स्तर’को फुटसल मैदान, पत्रकारसंग मैत्रीपूर्ण खेलसंगै शुरुवात

नौलो समाचार संवाददाता
२०८१ पौष २०, शनिबार मा प्रकाशित ११७ पटक पढिएको
बेलर स्कुलमा ‘राष्ट्रिय स्तर’को फुटसल मैदान, पत्रकारसंग मैत्रीपूर्ण खेलसंगै शुरुवात

बनेपा / बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीमा राष्ट्रिय स्तरको फुटसल मैदान निर्माण गरिएको छ ।

करिब ४ रोपनी क्षेत्रफलमा ‘राष्ट्रिय स्तर’को प्रतियोगिता गर्ने  मापदण्ड पुरा गरेको फुटसल मैदान तयार गरिएको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् । थापाका अनुसार फुटसलका अतिरिक्त क्याफ्टेरिया, बाड्मिन्टन कोर्ट र जिमसहितका पूर्वाधार तयार गरिँदैछ । २ तलाको फुटसलमा दर्शकहरु माथिल्लो तलामा बसेर खेल हेर्ने र क्याफेको सुविधा लिन सक्नेछन् । १०५ फिट लम्बाई र ६५ फिट चौडाईका खेलमैदानमा ५ए साइड खेल खेलाइने इञ्चार्ज मनोज बस्नेतले जानकारी दिए ।

नवनिर्मित फुटसलको शुभारम्भ काभ्रेका सञ्चारकर्मी र बेलर स्कुलका शिक्षक, कर्मचारीबिच मैत्रीपूर्ण फुटसल गरेर गरिएको छ । बेलरका तर्फबाट ६ गोल राम खड्काले र सञ्चारकर्मीका तर्फबाट ५ गोल भएको थियो । पत्रकार सरोज अधिकारीले १ गोल गरेर खाता खोलेका सञ्चारकर्मीको तर्फबाट देवराज केसीले थप ४ गोल गरेका थिए ।

सोही कार्यक्रममा बेलर इन्टरनेशनल एकेडेमीले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नवनिर्वाचित कार्यसमिति, केन्द्रीय र प्रदेश प्रतिनिधी समेतलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार समेत रहेका बेलर स्कुल सञ्चालक समितिका अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार इश्वरी ओझा, महेशराज पौडेल, मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना, अग्रज पत्रकार मधुसुदन गुरागाई, भगवती तिमल्सिना लगायत जिल्लाका कृयाशिल सञ्चारकर्मीको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस