विश्वभरका करिब १० हजार युवा धुलिखेल आउने

नौलो समाचार संवाददाता
२०८१ माघ ८, मंगलबार मा प्रकाशित ३३ पटक पढिएको
विश्वभरका करिब १० हजार युवा धुलिखेल आउने

काठमाडौं / विश्वभरका करिब १० हजार युवाहरुलाई प्रत्यक्ष सहभागी गराएर काभ्रेको धुलिखेलमा विश्व युवा महोत्सव हुँदैछ ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नेपालमा नै पहिलो पटक हुन लागेको महोत्सव आगामी चैत्र १४ देखि १८ गतेसम्म काठमाडौं विश्वविद्यालयमा हुनेछ । महोत्सवका लागि हालसम्म ७५ देशबाट ७ सय ७८ जना सहभागीले अग्रिम सःशुल्क नाम दर्ता गराइसकेका छन् । कार्यक्रमअगावै दर्ता गर्नेलाई ७ हजार ५ सय र कार्यक्रम अवधीमा दर्ता गर्नेलाई १० हजार शुल्क तोकिएको छ ।

महोत्सवबारे जानकारी दिन धुलिखेलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले खेलकुद, सांस्कृतिक कन्सर्ट, सेमिनार, दृश्यावलोकन लगायतका ५० भन्दा बढी गतिविधी हुने महोत्सव ३ लाख भन्दा बढीले अवलोकन गर्ने दाबी गरे । ती देशका विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यरत युवाहरु सहभागी हुनेछन् ।

२ सय भन्दा बढी विज्ञ, वक्ता सहभागी कार्यक्रममा २५ भन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सरकारकोे भिजन २०२५, राष्ट्रिय योजना आयोगको १६ औैं पञ्चवर्षीय योजनाका साथै दिगो विकास लक्ष्यका सूचकहरु पुरा गर्न महोत्सव केन्द्रीत हुने गौतमले जानकारी दिए ।

सबै देशका युवा सवालका साथै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, आयआर्जन लगायत विषयमा बारेमा कार्यपत्र, बहस, अन्तरक्रिया, विज्ञ छलफल हुनेछ । महोत्सवले आशाको सञ्चार गर्ने, नेपाल र काभ्रेलाई विश्व सामु चिनाउने तर्क गरे । महोत्सव पूर्वसन्ध्यामा ए डिभिजन फुटबल, फुटसल, महिला भलिबल र डिजिटल कविता प्रतियोगिता आयोजना गरिएका छन् ।

साउथ अफ्रिका लगायत ८ वटा देशमा सप्पन्न युथ फेस्टिभलमा सहभागी समन्वय समिति प्रमुख गौतमले त्यहाँको अनुभव र मागका आधारमा महोत्सव गर्न लागिएको बताए ।

जिल्ला समन्वय समिति काभ्रेले यसअघि १० हजार भन्दा बढीको सहभागितामा धुलिखेलमा लैंगिक हिंसा विरुद्धको अभियान, २ हजार भन्दा बढी खेलाडी सहभागी गराएर खेलकुद महोत्सव, वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस