कोरोनाको उपचार पछि विराटनगरबाट ६ जना भारतीय नागरिक डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ बैशाख २४, बुधबार मा प्रकाशित ६२५ पटक पढिएको
कोरोनाको उपचार पछि विराटनगरबाट ६ जना भारतीय नागरिक डिस्चार्ज

बैशाख २४, विराटनगर । प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर ठिक भएका ६ जना भारतीय नागरिक अाज (बुधबार) डिस्चार्ज भएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनिहरु विराटनगरको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचाररत थिए ।

उनिहरुको स्वास्थ्यमा सुधार आई कोरोना रिर्पोट नेगेटिभ आएपछि सबैलाई अाज अस्पतालबाट विदाई गरिएको हो । डिस्चार्ज भएकाहरुलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पुनः १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

त्यहाँ १० शैयाको शौचालयसहितको क्वारेनटाइन तयार गरिएको छ ।

कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २८ वर्षीय मोहम्मद जावेद, २९ वर्षीय मोहम्मद अजिज, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् ।

अस्पताललमा उनिहरु भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको कोशी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिए । उनले भने,‘‘चिकित्सकको निगरानीमा उपचार गरी स्वास्थ्य लाभ गरेर उनिहरु फर्किएका हुन ।’’ अब क्वारेन्टाइनमा बसेपछि उनिहरुको स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्नेसमेत निगरानी हुनेछ । आवश्यक परे परीक्षण पनि गरिने छ ।

उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनिहरुलाई प्रदेश सरकारले कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याएको थियो । अस्पताल भर्ना गराइएका १२ जनामध्ये ६ जना आज डिस्चार्ज भएका हुन् । उनीहरुसंगै आएका बाँकीको अस्पतालमै उपचार भईरहेको छ । कोभिड १९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस