बैशाख २४, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । भाेलि (बिहीबार) बस्ने स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आराम गर्न जान्छु भनेर निस्किएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
पार्टीभित्रको आन्तरिक मतभेद कम गर्न र सरकारका कामकारवाहीका बारेमा छलफल गर्न २० जना स्थायी कमिटीका नेताहरुले हस्ताक्षर संकलग गरी माग गरेपछि यस अघिको सचिवालय बैठकले वैशाख भोलिका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।
भोलि विहान ११ बजेबाट सुरु हुने भनिएको नेकपा स्थायी कमिटीको बैठकका लागि एजेण्डाबारे छलफल गर्न बसेको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद भएको थियो । आज (बुधबार) बसेको सचिवालय बैठकमा सहमति नभएपछि स्थायी कमिटी बैठक नै अनिश्चित भएको छ ।
‘बैठक कक्षबाट प्रधानमन्त्री ओली झोंक्किएर बाहिरिएका थिए।’ स्रोतले भन्यो, ‘आराम गर्न जान्छु भनेका प्रधानमन्त्री १ घण्टासम्म कुर्दापनि नआएपछि सचिवालयका अन्य सदस्यहरुले बैठक सम्पन्न भएको घोषणा गरे।’
सचिवालय वैठक बिना निष्कर्ष सकिएपछि साँझ अध्यक्षद्वयबीच छलफल भएको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘भोलीको स्थायी कमिटी बैठकका लागि अध्यक्ष काम्रेडहरु छलफलमा हुनुहुन्छ, हामी आशा गर्छौ भोलीको स्थायी कमिटी बैठकका लागि उहाँहरु सहमतिमा आउनुहुने छ।’
स्थायी समिति बैठकका लागि प्रस्ताव र अजेन्डा तय गर्ने सबालमा अध्यक्षद्धय ओली र प्रचण्ड विच सहमति हुन नसक्दा सचिवालय बैठक प्रभावित भएको हो ।
प्रतिक्रिया दिनुहोस