जेठ ५, काभ्रे । काेराेेेना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएकी महिलाका श्रीमान सहित आफन्तहरु डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसन वेडमा रहेका उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएपछि सोमबार डिस्चार्ज भएका हुन् ।
ज्वरो, रुघाखोकी र सासफेर्न समस्या भएपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ राम्चेकी २९ बर्षीय सुत्केरी महिला गत विहिबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन् । उनको सोहि दिन राती उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पछि उनका श्रीमान, १३ दिने नवजात शिशु सहित अस्पताल आइपुगेका आफन्तको पनि कोरोना भाइरस परीक्षण गरिएको थियो ।
मृतक महिलाका आफन्तमा कोरोना संक्रमण पुष्टि नभएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार धुलिखेल अस्पतालमा अहिले पनि ८ जना आइसोलेसनमै राखेर उपचार भइरहेको छ ।
काभ्रेमा हाल २७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि कोरोना परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर झाले बताए ।
प्रतिक्रिया दिनुहोस