पनाैती रंगशाला निर्माणको अवरोध ६ वर्षपछि हट्याे

नौलो समाचार संवाददाता
२०७७ श्रावण १४, बुधबार मा प्रकाशित ९१२ पटक पढिएको
पनाैती रंगशाला निर्माणको अवरोध ६ वर्षपछि हट्याे

साउन १४, काभ्रे। पनाैतीमा निर्माणधिन क्षेत्रीय रंगशालाको विवाद अन्ततः मिलेको छ । २०७० सालमा रंङ्गशाला बनाउन तयार पारिएको गुरुयोजनामा पनौती नगरपालिका–७ स्थित करिव ४५ रोपनी सार्वजनिक जग्गासँगै स्थानीय गणेशकुमारी कँडेल र नानी गिता कँडेलको नाममा १७ रोपनी १४ आना २ पैसा जग्गा पनि परेपछि केही वर्षअघिबाट विवाद उत्पन्न भएको थियो । विवाद चर्किदै गएपछि रंगशालाको निर्माणको काम पनि अबरूद्व भएकाे थियो ।

सम्बन्धित जग्गा धनीले आफूहरुसँग सहमती नै नगरी झुक्याउने तरिकाले एकाएक टेण्डर आव्हान गरेको आरोप लगाउँदै सुरुदेखिनै विरोध गर्दै आएका थिए । सर्वोच्च अदालतले नीजि जग्गामा रंगशाला नबनाउन आदेश दिएसँगै पनौती नगरपालिका र जग्गाधनीबीच सहमतिका लागि भएका पटक–पटकको प्रयास असफल भए पनि मंगलबार परिवार पक्ष र पनौती नगरपालिका पक्षसहित विशिष्ट व्यक्तिहरुसँग बसेको छलफलबाट कित्ता नम्वर १३२ को १७ रोपनी १४ आना २ पैसा जग्गा नगरपालिकाले कणेल परिवारसंग खरिद गरेको छ ।

नगरपालिकाले रंगशाला निर्माणका लागि भौतिक पूर्वाधारका लागि काम शुरु गरे पछि कँडेल परिवारले जग्गाको स्वामित्व आफ्नो रहेको भन्दै २०७१ मा नगरपालिका विरूद्व मुद्दामा गएका थिए ।

सार्वजनिक जग्गा २०३१ सालको नापिको समयमा ब्यक्तिका नाममा दर्ता गरेको फेला परेपछि नगरपालिकाले जग्गा फिर्ताका लागि गरेको सबै प्रयास विफल भए पछि सोहि जग्गा खरिद गरेको हो । निर्माण अधुरो रहेको क्षेत्रिय स्तरको रंगशाला अब प्रदेश स्तरको रुपमा रंगशालाको रुपमा निर्माण सम्पन्न हुनेछ ।

आर्थिक वर्ष २०७७/२०७८ मा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले न्युनतम मुल्यांकन कायम गरे भन्दा कम दरमा नगरपालिकाले उक्त जग्गा खरिद गरेको हो । ‘मालपोत कार्यालयको मुल्यांकनमा उक्त जग्गाको मुल्य ४ करोड ९ लाख ६९ हजार ५ सय रुपैया पर्नेमा नगरपालिकाले ३ करोड ६२ लाख २४ हजार २ सय ३७ रुपैया तिर्ने गरी खरिद गरेको छ।

२०७० सालमा शहरी विकास तथा भवन निर्माण विभागले आर्थिक वर्ष २०६९/२०७० मा उक्त क्षेत्रमा क्षेत्रिय स्तरको रंगशाला निर्माणका लागि नगरपालिकासँग सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस