नमोबुद्ध नगरका विपन्न परिवारलाई दशैं राहत

नौलो समाचार संवाददाता
२०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ६६६ पटक पढिएको
नमोबुद्ध नगरका विपन्न परिवारलाई दशैं राहत

कात्तिक ६, काभ्रे। काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका सय भन्दा बढी विपन्न परिवारलाई दशैं लक्षित राहत वितरण गरिएको छ ।

नेपाल जेसुइस सामाजिक संस्थाको सहयोगमा नमोबुद्ध नगरपालिकाले नगरभित्रका ११ वटै वडाका १ सय १२ परिवारलाई राहत वितरण गरेको हो । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले राहत वितरण गरेका हुन् । राहत प्याकेजमा प्रतिपरिवार १ बोरा चामल, १ किलो नुन, १ किलो चना, १ लिटर तेल, १ केजी सोयाविन तथा २ किलो दाल रहेको छ ।

नगरपालिकाका सबै वडाका अति विपन्न, अशक्त, अपांग तथा एकल महिलालाई राहत दिइएको नगर प्रमुख तिमल्सिनाले बताए । उनका अनुसार नमोबुद्ध नगरपालिकाले कोभिड १९ महामारी सुरु भएयता वितरण गरेको यो चौंथोपटकको राहत हो । यसअघि नगरपालिकाले विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा राहत वितरण गरिसकेको छ ।

कोभिड १९ को महामारीका कारण पीडित विपन्न परिवारलाई दिइएको राहतले उनीहरुको पनि दशैं उल्लासपुर्ण हुने अपेक्षा गरिएको नगर प्रमुख तिमल्सिनाले बताए  । आफूहरु नगरबासीको हितका लागि सधैं क्रियाशिल रहेको भन्दै तिमल्सिनाले सहयोग र राहत आगामी दिनमा पनि उपलव्ध गराउँदै जाने बताए । राहत लिन उपस्थित भएका विपन्न परिवारका सदस्यहरुले यो राहतले आफूहरुको दशैं राम्रो हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस