काँग्रेस कार्यालय परिसरमा विपीको शालिक शिल्यान्यास

नौलो समाचार संवाददाता
२०७७ फागुन ७, शुक्रबार मा प्रकाशित ४४० पटक पढिएको
काँग्रेस कार्यालय परिसरमा विपीको शालिक शिल्यान्यास

फागुन ७, काभ्रे । ७१ औ प्रजातन्त्र दिवसको अवसर पारी नेपाल भुतपुर्व सैनिक संघ काभ्रे जिल्ला समितिले नेपाली कांग्रेस काभ्रेको नवनिर्मित भवन परिसरमा विपी कोईरालाको अर्धकदको शालिक शिल्यान्यास गरेको छ । प्रजातन्त्र सेनानी शिव बडाल ‘कंगाल’ले शालिक शिल्यान्यास गरेका हुन् ।

‘राजपरिवारको हत्या गरेसँगै नेपालमा हिन्दु धर्म नाश गर्ने कार्य शुरु भयो’–प्रजातन्त्र सेनानी शिव बडाल ‘कंगाल’ले भने–‘प्रजातन्त्र पटक पटक मास्ने काम भयो, नेतृत्व सहि नहुँदा प्रजातन्त्र नै असफल भयो ।’ प्रजातन्त्र ब्यवसायीहरुको हातमा पुगेकाले त्यसलाई टिकाउन नसकिएको उनको भनाई थियो । दुई ठुला मुलुकको बीचमा नेपाल भएकाले नेपाललाई धार्मिक आश्थाका आधारमा थिचोमिचो हुन सक्ने भएकाले हिन्दु धर्मको रक्षाका लागि सबै एक हुनु पर्ने उनले बताए ।

शालिक शिल्यान्यास कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले विपीले मान्दै आउनु भएको राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई एकै साथ लिएर हिड्न सके मात्रै मुलुक समृद्ध बन्न सक्ने बताए । आजको आवश्यकता मुलुकका लागि यि तिनैवटा विषय भएकाले त्यसलाई आत्मसाथ गर्नु पर्ने बताए ।

नेपाल भुतपुर्व सैनिक संघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर दाहालले विपीको विचारलाई ब्यवहारमै कार्यान्वयन गर्न सधै झक्झक्याउने उदेश्यले कांग्रेस कार्यालय परिसरमा शालिक निर्माणको योजना तयार गरी प्रजातन्त्र दिवसको अवसरमा शिल्यान्यास गरिएको बताउनु भयो । शालिक निर्माणका लागि १७ लाख खर्च हुने इस्टमेट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस