बैशाख २८, काठमाडौँ। काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । आज (मंगलबार) उपत्यकाका तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।
अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ ।
त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । घरमा भने १० जनासम्म भेला हुने गरी यस्ता कार्य गर्न दिइने निमित्त प्रजिअ बस्नेतले जनाए ।
दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ९ बजेसम्म तोकिएकोमा त्यसलाई बढाएर १० बजे पुर्याइएको छ । त्यस्तै कालीमाटीलगायतका तरकारी तथा फलपलू बिक्री बेन्द्रबाट खुद्रा बिक्रीमा रोक लगाइएको छ । ती बजारबाट थोक बिक्री मात्रै गर्न पनि आदेश जारी गरिएको छ ।
सोमबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुले निषेधाज्ञा थप गर्नेबारे मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरेका थिए ।
यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि थप कडाइ गर्दै पुनस् अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस