भकुण्डेबेसीको आइसोलेसन केन्द्रलाई जेसीजको स्वास्थ्य सामग्री सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित १०१२ पटक पढिएको
भकुण्डेबेसीको आइसोलेसन केन्द्रलाई जेसीजको स्वास्थ्य सामग्री सहयोग

जेठ २१, काभ्रे। कोभिड-१९ को महामारीलाई लक्षित गर्दै नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा सञ्चालित आइसोलेसन केन्द्रका लागि दाताहरुबाट अत्यावश्यक स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढ्दै गएको छ। सोही क्रममा भकुण्डेबेसी जेसीज र भकुण्डेबेशी जुनियर जेसीजले आज (शुक्रबार) अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आइसोलेसन केन्द्रका लागि हस्तान्तरण गरेका छन्।

आइसोलेसन केन्द्रका लागि जेसीजले ५० हजार रुपैयाँ बराबरको अत्यावश्यक औषधी, माक्स, पिपिई, अक्सीमिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइसोलेसन केन्द्रमा आयोजित कार्यक्रममा भकुण्डेबेशी जेसीज बर्ष २०२१ का अध्यष सुदर्शन चिमौरियाले नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो। कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, भकुण्डेबेसी जेसीजका पूर्व अध्यक्षहरु हरिहर अधिकारी, केबी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनालले सबैको सहयोगमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा लागिपरेको बताउँदै जेसीजले गरेको सहयोगले थप हौसला मिलेको बताउनुभयो। मेथिनकोट अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको पनि खनालले बताउनुभयो।

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संकटको बेला जेसीजले गरेको सहयोगले कोरोना रोकथाम र नियन्त्रणको अभियानलाई हौसला मिलेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो।

नमोबुद्ध नगरपालिका ४ स्थित जनक बहुमुखी क्याम्पसमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा ४० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिरहेका छन् । केन्द्रमा हाल कोभिड १९ बाट संक्रमित ७ जना बिरामी रहेका छन् ।

उक्त केन्द्रमा हालसम्म बिरामी भर्ना भएको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिएकी छन् । सत्यालका अनुसार आइसोलेनि केन्द्रमा हालसम्म ४१ जना कोभिड–१९ बाट संक्रमित बिरामी भर्ना भइसकेका छन् । त्यसमध्ये २८ जना डिस्चार्ज भइसकेका छन् भने ५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने एक जनाको निधन भएको थियो । आइसोलेसन केन्द्रका लागि यसअघि प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेसन लगायतका दाताहरुले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस