रिहा भए काँग्रेस नेता गणेश लामा, रिहा अघि काभ्रेमा काँग्रेसको प्रदर्शन

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित ८८७ पटक पढिएको
रिहा भए काँग्रेस नेता गणेश लामा, रिहा अघि काभ्रेमा काँग्रेसको प्रदर्शन

जेठ २८, काभ्रे। नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामालाई जिल्ला प्रशासन कार्यालय कास्कीले रिहा गरेको छ।

विहिबार पोखरामा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका गणेश लामा आज (शुक्रबार) रिहा हुनुभएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले उहाँलाई २ हजार धरौटी लिएर छाडेको हो। कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेता लामासहित तीन जनालाई रिहाई गर्न आदेश दिनुभएको हो। प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेताहरू चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका हुन् ।

उहाँलाई कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार कारबाहीका लागि प्रशासनमा पठाइएको थियो।

लामाको रिहाइको माग गर्दै काभ्रेमा प्रदर्शन

यता, काभ्रेमा आजै लामाको रिहाइको माग गर्दै नेपाली काँग्रेस काभ्रे र भातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेका थिए। लामाको रिहाईको माग गर्दै काँग्रेस कार्यकर्ताहरुले बनेपा र कुन्तामा प्रदर्शन गरेका थिए।

लामालाई पोखराबाट प्रतिशोध पूर्वक पक्राउ गरेको भन्दै बिरोध प्रदर्शन गरेको नेबि संघका सभापति नृपेश बादेले जानकारी दिए । काभ्रेको चार दोबाटोमा जम्मा भएर काँग्रेस कार्यकर्ताहरुले नाराबाजी सहित प्रदर्शन गरेका थिए । त्यस्तै काभ्रे कांग्रेसले मण्डनदेउपुर नगरपालिकाको कुन्तामा पनि लामाको रिहाईको माग गर्दै प्रदर्शन गरेका थिए।

गण्डकी प्रदेश सभाका सांसद दिपक मनाङ्गेलाई मिलाउन काँग्रेसका नेता समेत रहेका लामालाई काँग्रेसको केन्द्रीय नेतृत्वले पोखरा पठाएको बताईएको छ। नेता लामालेनै दिपक मनाङ्गेसँग गोप्य भेटवार्ता गरेपछी पासा पल्टीएको स्रोतको दाबी छ ।

काँग्रेस नेता लामाकै पहलमा मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस